साहित्य अनुरागीको उत्साहपूर्ण सहभागीतासहित सकियो ‘मनसरा’को कविता कन्सर्ट

साहित्य अनुरागीको उत्साहपूर्ण सहभागीतासहित सकियो ‘मनसरा’को कविता कन्सर्ट

द सिनेमा टाइम्स
245
Shares

द सिनेमा टाइम्स, काठमाडौं – यतिवेला बैशाख २१ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘मनसरा’ टिम कविता कन्सर्टको लागि पूर्वी नेपालमा छ । सिनेमाको निर्माण टिमले पश्चिम नेपालको बुटवलबाट सुरु गरेको कविता कन्सर्ट शनिबार पूर्वी नेपालको इटहरी पुगेर सकिएको हो ।

हरेक सिनेमाका निर्माण टिमले पछ्याएको एकै खाले प्रचार शैलीलाई नपछ्याई भिन्न र फरक शैलीमा प्रचार गर्न यो सिनेमाको निर्माण टिमले कविता कन्सर्टको आयोजना गर्दै आफ्नो सिनेमाको प्रचार गरेको थियो । निर्देशक उपेन्द्र सुब्बा आफैमा अब्बल कवि भएकाले पनि सिनेमाका लागि यो फरक प्रचार शैली सफल भएको निर्माता शैलेन्द्र डी कार्कीले बताए । ‘हामी सिनेमाको प्रचारमा विभिन्न ठाउँमा पुग्दा सिनेमाप्रति दर्शक उत्साहीत रहेको पाएका छौं’, उनले भने ।

कविता कन्सर्टका हरेक कार्यक्रममा निर्देशक सुब्बाले आफ्नो कविता मार्फत् उपस्थित दर्शक तथा साहित्य अनुरागी व्यक्तिलाई मनोरञ्जन दिनुमा साथै ‘मनसरा’ हेरेर साथ दिन अनुरोध समेत गरेका छन् । सिनेमाको टिमले आयोजना गरेको कविता कन्सर्टमा अभिनेत्री मिरुना मगर, प्रवीन खतिवडा र मेनुका प्रधानले ‘मनसरा’को बारेमा उपस्थित दर्शक तथा साहित्य अनुरागीहरुलाई जानकारी दिएका थिए ।

कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशक रहेको सिनेमामा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । सिनेमाका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् ।

सिनेमामा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहेको छ । त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेका छन् ।

यो सिनेमालाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ । जी टु वान सिनेमाको डिजिटल पार्टनर हो ।