‘बोक्सीको घर’को शनिबार देशैभर आक्रामक व्यापार

‘बोक्सीको घर’को शनिबार देशैभर आक्रामक व्यापार

केकीले हल पुगेर सिनेमाको सुपरहिट गीत 'बुझिन मैले'मा दर्शकसँग नाचेर साथ दिएकी छन् । सिनेमाले दर्शकको उच्च साथ पाएपछि उत्साहित देखिएकी हुन् ।

द सिनेमा टाइम्स
252
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हिजो शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘बोक्सीको घर’ले बक्सअफिसमा आक्रामक सुरुवात गरेको छ । सिनेमाका प्रचार सामाग्री बुधबार गरिएको सिनेमाको प्रिमियर शोबाट मिलेको उत्कृष्ट प्रतिक्रिया पाएपछि सिनेमाले शुक्रबारबाट आक्रामक व्यापारको सुरुवात गरेका हो ।

शुक्रबार राजधानीमा देशको ठुलो मल्टिप्लेक्स चने क्युएफएक्स २४ शो दिँदा मोफसलमा ३२ शो दिएको थियो । तर, शुक्रबार सिनेमाले पाएका जति शोमा दर्शकको चाप उच्च भएपछि शनिबारका लागि यो लगायतका अन्य हलले समेत शो थपेका थिए । पहिलो दिन शुक्रबार सिनेमाले देशभर करिब दुई सय शो पाएको थियो, भने शनिबार बढेर तीन सय आसपासमा शो पाएको थियो ।

शुक्रबार दर्शकबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले शनिबार बिहानी शोदेखि रातीसम्मका सवै शोमा दर्शक भरिभराउ छन् । विभिन्न हलका अनलाइन टिकेटिङ साइट खोलेर हेर्दा आक्रामक रुपमा टिकट बिक्रि भैरहेको देख्न सकिन्छ । दर्शकको उच्च साथ पाएसँगै अभिनेत्री तथा निर्मात्री केकी अधिकारी शुक्रबार र शनिबार बिहानीदेखि काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगरे दर्शक प्रतिक्रिया लिइरहेकी छन् ।

यस्तै, उनले हल पुगेर सिनेमाको सुपरहिट गीत ‘बुझिन मैले’मा दर्शकसँग नाचेर साथ दिएकी छन् । सिनेमाले दर्शकको उच्च साथ पाएपछि केकी उत्साहित देखिएकी छन् । विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिने क्रममा उनले हामीले जुन लक्षित वर्गका लागि सिनेमा निर्माण गरेका थियौं, उहाँहरु हलसम्म पुगेर सिनेमा हेरिदिनु भयो, सम्पुर्ण दर्शक तथा शुभचिन्तकलाई यो साथ र सहयोगको लागी उनले धन्यवाद ज्ञापन गरिन् ।

निर्देशक सुलक्षण भारतीले पनि आफ्नो पहिलो सिनेमा नै दर्शकको साथ पाउनु नै भाग्यमानी ठानेको बताए । ‘अहिले जति जना हलमा आएर सिनेमा हेरिदिनु भएको छ, त्यसैमा खुशी छौं । साथै, नेपालका धेरै हल नभएका जिल्लाका दर्शकलाई पनि यो सिनेमा देखाउने आफुहरुको लक्ष्य रहेकाले कसरी देखाउँने भन्ने सोचिरहेका छौं’, उनले भने ।

सिनेमामा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ । अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गरेको बताएकी छन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण भएको हो ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । सिनेमामा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।

सिनेमामा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले सिनेमाको वितरण अधिकार लिएको छ ।