सन्तोष सेनको मेगा प्रोजेक्ट ‘बलिदान’को लागि अडिसन आह्वान

सन्तोष सेनको मेगा प्रोजेक्ट ‘बलिदान’को लागि अडिसन आह्वान

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आसुसेन फिल्मस्को मेगा प्रोजेक्ट ‘बलिदान’का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको छ । निर्देशक तथा निर्माता सन्तोष सेनले आइतबार इच्छुक र योग्य व्यक्तिले खुल्ला प्रतिस्पर्धात्मक अडिसनका लागि सम्पर्क गर्न आह्वान गरेका हुन् ।

मुख्य नारी पात्रको भूमिकामा परिवेश सुहाउँदो र एक पुरुष कलाकार आवश्यक परेकोले अडिसनबाट नै छनोट गर्न लागेको निर्देशक सेनले बताए । सेनले महिला पात्रको लागि अन्दाजी २१ देखि ३२ वर्ष उमेर समूहकी मधेसी संस्कृति र सौन्दर्य झल्काउन सक्ने लुक्स भएकी, साहस र कुटिलता झल्किने हाउभाउ र चालढाल भएकी तथा एक्सन प्रधान भूमिका निर्वाह गर्न सक्ने कलाकारको खोजी भएको बताए ।

त्यस्तै, पुरुष पात्रको लागि अन्दाजी २८ देखि ५५ वर्ष उमेर समूहको कलाकारको खोजी भएको जनाए । अडिसनमा सहभागी हुन महिला कलाकारसँग मोटरबाइक हाँक्न सक्ने र मार्सल आर्टको सिप हुनुपर्नेछ भने पुरुष र महिला दुवै कलाकारले नेपाली भाषामा मैथिली उच्चारणसहित संवाद बोल्न सक्नुपर्नेछ । पूर्वी नेपालका इटहरी, विराटनगर र जनकपुर क्षेत्रका कलाकारले प्राथमिकता पाउने जनाइएको छ । आवेदन दिने अन्तिम मिति २०८१ वैशाख मसान्तलाई तोकिएको छ।

अडिसनमा सहभागी हुन आसुसेन फिल्मसको आधिकारिक इमेल ठेगाना  [email protected] मा र ह्वाट्सएप मेसेन्जर नम्बर 9811840082 मा सन्देश मार्फत सम्पर्क गर्न सकिने छ ।

‘बलिदान’को मुख्ख भूमिकामा समीर भट्टले डेब्यु गर्दैछन् । यो सिनेमामा यसअघि अभिनेताद्वय सौगात मल्ल, अर्पण थापा र दिव्य देव तथा अभिनेत्री ऋचा शर्मा अनुबन्ध भइसकेका छन् । यही वर्ष रिलिज हुने सिनेमाको हाल पूर्वी नेपालको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ । सिनेमाको छायांकन करिब ६० प्रतिशत स्टुडियोमा नै हुनेछ ।

आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने सिनेमामा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह-निर्माता प्रेम पुरी रहेका छन् ।