‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक

‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
315
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुरज सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमा ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ३ मिनेट २० लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

कमेडी शैलीमा निर्माण भएको सिनेमाको ट्रेलरमा कमेडीले नै प्राथमिकता राखेको छ । ट्रेलरमा सहकारीको ठगी विषय पनि समेटिएको छ । यसले सिनेमामा सहकारीको ठगीको विषय पनि रहेको अनुमान लगाउन सकिन्छ । ट्रेलरमा सिनेमाका मुख्य कलाकार नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापाले नै प्राथमिकता पाएका छन् ।

सिनेमामा दुई तीनवटा थिमबाट निर्माण भएको निर्देशक सिमोस सुनुवारले बताए । ‘अहिले टिकटक जेनरेशनले गर्दा एक मिनेटको भिडियोमा पूर्ण कथा खोज्ने दर्शक छन् । त्यसैले एउटै थिममा २, ३ घण्टा तन्काउनुभन्दा पनि एउटै थिम भित्र साना-साना ३ वटा कथा समेत भन्ने प्रयास सिनेमामा गरेको छु,’ सुनुवारले भने । सिनेमामा फेन्ससिप, रोमान्स र सामाजिक विषय समेत रहेको निर्देशन सुनुवारले खुलाए ।

सिनेमामा ‘खजुरे ब्रो’को भूमिका निर्वाह गरेका अभिनेता रेअर राईले आफ्नो भूमिकाले दर्शकलाई राम्रोसँग हँसाउने बताए । सिनेमामा ‘खजुरे’को चरित्रबाट धेरै कुरो सिक्न र जान्न मिलेको उनको धारणा थियो । अभिनेता महेश त्रिपाठीले सिनेमाको कथा फरक भएकोले आफू सिनेमासँग जोडिएको बताए । सिनेमाले दर्शकलाई केही नयाँ र भिन्न अनुभूति दिने उनले धारणा राखे ।

अभिनेत्री नीतिले सिनेमामा डेब्यु अवसरका लागि निर्माण युनिटलाई धन्यवाद दिइन् । उनले सिनेमाको ट्रेलरमा आफ्नो उपस्थिति धेरै नभए पनि सिनेमामा राम्रो उपस्थिति रहेको बताइन् । डेव्यु सिनेमाका लागि उनी निकै उत्साहित समेत छिन् ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको सिनेमामा निर्माता नवीन मानन्धर तथा निर्देशक सुरज सुनुवार हुन् । सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माता हुन् । डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’मा शिशिर विशंखेको छायांकन रहेको छ भने सम्पादक मित्र डी गुरुङ हुन् ।

अनमोल गुरुङको संगीत रहेको सिनेमालाई रोहित रत्नको आरआर फिल्मस्ले वितरण गर्दैछ । सिनेमामा नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दिप चन्द्र राईलगायतका कलाकारहरूको अभिनय छ ।