‘माइतीघर’ अभिनेता सीपी लोहनीको ८६ वर्षको उमेरमा निधन

‘माइतीघर’ अभिनेता सीपी लोहनीको ८६ वर्षको उमेरमा निधन

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा ‘माइतीघर’का अभिनेता सीपी लोहनी (चिदम्बरम प्रसाद लोहनी)को ८६ वर्षको उमेरमा सोमबार निधन भएको छ । निजी क्षेत्रले निर्माण गरेको पहिलो नेपाली सिनेमाका अभिनेता लोहनी अल्माइजर पीडित थिए । उनको आज दिउँसो १ः३० बजे निधन भएको चलचित्र कलाकार संघले जनाएको छ ।

अभिनेता लोहनीको काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । उनको पार्थिव शरिरलाई आज अपरान्ह ४ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन् ।

अभिनेता लोहनी गायक समेत थिए । उनले रेडियो नेपालमा केही गीत रेकर्ड गरेका छन् । पछिल्लो गीतको रुपमा उनले ‘पुनरागमन’ ल्याएका थिए । नेपालीसहित हिन्दी र बंगाली सिनेमाकी चर्चित अभिनेत्री माला सिंन्हासँग उनले विवाह गरेका थिए । उनीहरुको एक छोरी छिन् ।

सिनेमा ‘माइतीघर’मा नेपाली मूलकी भारतीय अभिनेत्री माला सिंन्हा उनको अपोजिटमा थिइन् । यही सिनेमामा अभिनय गरेपछि मालाको सिपीसँग विवाह भयो । लामो समयदेखि सिपी र माला सिनेमा अभिनयबाट टाढा थिए ।