अन्तर्राष्ट्रिय श्रमिक दिवसमा ‘बोक्सीको घर’ बिहानी शोबाटै हाउसफूल

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा ‘बोक्सीको घर’ बिहानी शोबाटै हाउसफूल

द सिनेमा टाइम्स
252
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमाले अहिले बक्सअफिसमा व्यापारको उच्च रफ्तार कायमै राखेको छ । आइतबार, सोमबार र मंगलबार वीज डेजमा समेत राम्रो ब्यापार गरेको सिनेमाले आज बुधबार परेको अन्तर्राष्ट्रिय श्रमिक दिवसको बिदाको अवसरमा बिहानी शोबाटै हाउसफूल व्यापारको सुरुवात गरेको हो ।

राजधानीमा अधिकांश हल तथा मोफसलका ठुला सहरमा श्रमिक दिवसको दिन बिहानी शोबाटै हाउसफूल ब्यापारको सुरुवात भएपछि अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले श्रमिक दिवसको शुभकाममना सहित सिनेमा हेरेर साथ दिने सम्पुर्ण दर्शकलाई धन्यवाद ज्ञापन गरेकी छन् । आगामी दिनमा पनि यो साथ र सहयोगको निरन्तर अपेक्षा रहने उनले बताएकी हुन् ।

सिनेमामा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ । उनी स्वयंले सिनेमामा केकीको श्रीमानको भूमिकामा निवार्ह गरेका छन् । अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गरेको बताउँछिन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण भएको छ ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । सिनेमामा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् । सिनेमा रिलिज पश्चात अभिनेत्री केकी र बालकलाकार सुपला सापकोटाको अभिनयलाई दर्शकले निकै रुचाएका छन् ।

सिनेमामा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मस्ले सिनेमाको वितरण अधिकार लिएको छ ।