प्रदीपको ‘ऐरी’मा भुटानी अभिनेता सांगे अनुबन्धित

प्रदीपको ‘ऐरी’मा भुटानी अभिनेता सांगे अनुबन्धित

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भुटानी अभिनेता सांगे सेल्ट्रिम नेपाली सिनेमा ‘ऐरी’मा अनुबन्धित भएका छन् । अभिनेता प्रदीप खड्कासँग काम गर्न लागेका हुन् । बुधबार सिनेमाका निर्देशक जीवन थापाले उनीसँग कागजी सम्झौता गरेका छन् । यो सिनेमा सम्झौता गर्न उनी मंगलबार काठमाडौं आएका थिए । उनी बिहीबार बिहानै स्वदेश (भुटान) फर्किसकेका छन् ।

सिनेमाको कथावस्तुले आफूलाई आकर्षित गरेको बताए । उनले भनेका छन्, ‘मैले यो सिनेमा गर्न लाग्नुको मुख्य कारण यसको कथावस्तु हो । यसको कथावस्तु ऐतिहासिक छ । मलाई सधैं योद्धाको कथामा काम गर्न मन थियो । यो सिनेमाबाट मेरो त्यो सपना पुरा हुँदैछ ।’ नेपाल र भुटानको सम्बन्धलाई अझै उचाइँमा लैजान पनि आफू ‘ऐरी’मा जोडिएको उनको भनाई छ ।

भुटानी सिनेमा ‘सिंग्ये’मा काम गरेपछि सांगेले सलमान खान अभिनीत सिनेमा ‘राधे’बाट बलिउडमा डेब्यूको मौका पाएका थिए । यो सिनेमामा उनले खलपात्रको भूमिकामा काम गरेका थिए । यसपछि उनी गत वर्ष शाहरुख खानसँग सिनेमा ‘जवान’मा पनि काम गरेका थिए । यसअघि पनि ‘ऐरी’को विषयमा कुराकानी गर्न उनी काठमाडौं आएका थिए ।

सिनेमामा प्रदीपले शिकारीको भूमिका निर्वाह गर्दैछन् । निर्माणपक्षले अब कलाकारहरुलाई अनुबन्धित गर्ने कार्यलाई अगाडि बढाएको छ । हिन्दी, नेपाली, अंग्रेजी र तमिल गरी चार भाषामा बन्न लागेको यो सिनेमाको यतिबेला प्रि-प्रोडक्सनको काम भइरहेको छ । सिनेमामा सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरको निर्माण रहनेछ । सिनेमाको छायांकन केही महिनापछि सुरु हुनेछ ।