‘फर्की फर्की’को दोस्रो गीत ‘अन्तिम माया’ रिलिज

‘फर्की फर्की’को दोस्रो गीत ‘अन्तिम माया’ रिलिज

द सिनेमा टाइम्स
266
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भुमिका रहेको सिनेमा ‘फर्की फर्की’को दोस्रो गीत रिलिज भएको छ । आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउने सिनेमाको यो गीत गायक नेरेन लिम्बुको हिट गीत ‘अन्तिम माया’को रि-एरेञ्ज हो ।

शुक्रबार सार्वजनिक गीतमा लिम्बुकै कम्पोज, लेखन र स्वर यो गीतमा समावेश छ । कथावस्तुको महत्वपूर्ण प्लटमा यो गीत तयार पारिएको छ । सिनेमाका दुई मुख्य पात्रको विछोडको मनोविज्ञानमा गीत समावेश गरिएको बुझ्न सकिन्छ ।

सिनेमाको गीतको भिडियोमा अनमोल केसी, जसिता गुरुङ फिचर्ड छन् । नरेन र अनमोलबीच दोस्रोपटक सांगीतिक सहकार्य भएको हो । अनमोल अभिनित ९ वर्षअघि रिलिज भएको सिनेमा ‘जेरी’मा पनि नरेनकै हिट गीत ‘भन्न आउँदैन’लाई रि-एरेन्ज गरेर समावेश गरिएको थियो ।

नरेनकै हिट गीतलाई निर्माता रोहित अधिकारीले कथामा आवश्यक परेर रि-एरेन्जसहित समावेश गरिएको बताए । ‘कथासँग यो गीतको गहिरो सम्बन्ध छ । दर्शक यो गीत सुन्दै भावनाको गहिराइमा पुग्न सक्नुहुन्छ’ अधिकारीले भने ।

टाइम ट्राभल लभस्टोरीमा निर्माण भएको सिनेमाको कथा निर्देशक सुयोग गुरुङ आफैले लेखेका हुन् । सिनेमामा अनमोल र जसिताका अलवा कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता सलोन बस्नेत बिशेष भुमिकामा देखिएका छन् ।

रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका निर्माता ओम प्रकाश अग्रवाल र रोहित अधिकारी हुन् । सिनेमाका सह-निर्माता मनोज ओली र रामु न्यौपाने हुन् भने मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

यो सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, रोमन बज्रचार्य र नरेन लिम्बूको संगीत तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन र शंकर पाण्डेले प्रोडक्सन म्यानेजरको रुपमा काम गरेका छन् । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने प्रोडक्सनले वितरण गर्दैछन् ।