प्रकाश सपूतले गरे सिनेमा ‘वसन्त’को निर्माण घोषणा, मुख्य भूमिकामा प्रकाश र स्वस्तिमा

प्रकाश सपूतले गरे सिनेमा ‘वसन्त’को निर्माण घोषणा, मुख्य भूमिकामा प्रकाश र स्वस्तिमा

स्वस्तिमा भन्छिन्– प्रकाशलाई ब्लाइन्डली विश्वास गर्न सक्छु, भुवन भन्छन्– प्रकाशमा सिंगो सिनेमा उद्योग बोकेर हिँड्ने क्षमता देखिरहेको छु

द सिनेमा टाइम्स
658
Shares

द सिनेमा टाइम्स,काठमाडौं । गायक प्रकाश सपूतले सिनेमा निर्माणको घोषणा गरेका छन् । आज काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै उनले ‘वसन्त’ नामक सिनेमा बनाउने घोषणा गरेका हुन् । सिनेमाको मुख्य भूमिकामा प्रकाश आफैँले अभिनय गर्नेछन् । सिनेमाको निर्देशन पनि प्रकाश स्वयंले गर्नेछन् । उनको यो डेब्यू सिनेमा निर्देशन हुनेछ । सिनेमाको कथा पनि उनी स्वयंले लेखेका छन् । संगीत पनि उनकै हुनेछ ।

कार्यक्रममा प्रकाशले आफ्नै जीवनको कथामा मिल्दोजुल्दो सिनेमा बनाउन लागेको जानकारी दिए । आफैँले देखेर भोगेको कथा सिनेमाको कथामा उतारेको उनको भनाइ छ ।

सिनेमाका लागि धेरै विषय भए पनि सुरुमा आफ्नै विषय उठान गर्ने जमर्को गरेको उनले बताए । ‘यो भन्दा कमर्सिय सिनेमा बनाउँ भन्ने कुरा पनि आएको थियो । विषय पनि थिए । तर हरेक सर्जकले पहिला आफ्नै कथा भन्छ रे ।’ कार्यक्रममा उनले भने, ‘पहिला आफ्नै जीवनको कथा भनौँ अनि बाँकी कथा भनौँला भनेर मैले भोगेकै कथा सिनेमामा लेखेको छु ।’

सिनेमामा धेरै कथा आफ्नै रहेको बताएका उनले केही कुरा सिनेम्याटिक बनाउन थपिएको र केही कथा आवश्यकताअनुसार परिमार्जन गरिएको उनको भनाइ छ । अन्यथा धेरै कुरा जातीय विभेद र त्यसको सिर्जना गर्ने घटनामा सिनेमा केन्द्रित रहेको उनी स्पष्ट पार्छन् । ‘परदेशी-२’ बाट अभिनयमा डेब्यु गरेका उनले अहिले आफैँ सिनेमा निर्देशन गर्न लागेका हुन् । आफ्नो सिनेमाको जग ‘परदेशी-२’ नै भएको उनले स्मरण गरे । जात र वर्गीय व्यवस्थाकै कारण विभेद भोगिरहेको समुदायले भोग्नु पर्ने कथामा महिलाले विद्रोह गर्ने उनी बताउँछन् । आफूले जे भोगेको हो त्यही नै सिनेमामा देखाउने उनले बताए ।

प्रकाश सिनेमामा ‘वसन्त’को भूमिकामा देखिनेछन् । जो सिनेमाको हिरो हुनेछ । यो पात्रले दलित युवकको चरित्र निभाउने छ । उनको अपोजिटमा रहने पात्रको नाम शान्ती हुनेछ । जसले विद्रोह गरेर अन्तरजातीय विवाह गर्नेछ ।

सिनेमामा यो भूमिका स्वस्तिमा खड्काले निर्वाह गर्नेछिन् । ‘मलाई विश्वास गर्नु भएकोमा प्रकाशजीलाई धन्यवाद । मैले उहाँसँग पहिला पनि काम गरिसकेकाले ब्लाइन्डली विश्वास गर्नसक्छु’, स्वस्तिमाले भनिन्, ‘उहाँका भिडियोमा महिला पात्रलाई बलियोसँग पोट्रे गरिएको हुन्छ । कतिपय भिडियो र सिनेमामा महिला आउने जाने मात्रै हुन्छ, तर उहाँ महिला चरित्रलाई उठाइसकेपछि बलियोसँग उठाउनुपर्छ भन्नुहुन्छ । त्यसैले उहाँको काममा म ढुक्कले विश्वास गर्नसक्छु ।’

कार्यकारी निर्माता अनुरोध भट्टराईले आफूले आठ वर्ष अगाडिदेखि प्रकाशलाई चिनेको र आफूले उनका हरेक सिर्जनामा कुनै न कुनै रुपमा सहयोग गर्दै आएको बताए । ‘मैले उहाँलाई केही काम पर्दा मलाई सम्झिनु भनेको थिएँ । उहाँले सिनेमा बनाउने हुनु भएछ, मलाई होस्टेमा हैँसे गर्नुपर्यो भन्नुभयो’, उनले भने, ‘तीन करोड नेपालीमाझ आफूलाई प्रमाणित गरिसकेको व्यक्तिले सिनेमामा पनि आफूलाई प्रमाणित गर्नुहुन्छ भन्नेमा म ढुक्क छु । त्यसैले मैले लगानी गरेको हुँ ।’ नेपाली सिनेमा उद्योगमा मुर्गा बनाउने प्रवृत्ति रहेको तर आफू यसबाट सचेत रहेको उनले बताए । कुन प्रोजेक्टमा कसरी कोसँग काम गर्दा फाइदा घाटा हुन्छ भन्नेमा आफू जानकार रहेको उनले बताए ।

अर्का निर्माता मोहन विश्वकर्माले सानैदेखि सिनेमा क्षेत्रमा काम गर्ने रहर भएपनि अवसर नपाएको तर अहिले निर्माणमा भएपनि आएको बताए । ‘पहिल्यैदेखि काम गर्ने रहर थियो । विभिद कारणले आउन सकिएन । आफू हिरो हुन सकिएन’, उनले भने, ‘तर अहिले निर्माताको रुपमा भए पनि आएको छु । यो क्षेत्रलाई केही सहयोग गर्न सकिन्छ कि भन्ने हो ।’ यो सिनेमामा कार्यकारी निर्मातामा नेन्सी शेरचन पनि रहनेछिन् ।

सिनेमाको नाम सार्वजनिक गर्ने क्रममा देखाइएको छोटो भिडियोमा प्रकाश घिमिरे, अनुप बराल र कमलमणि नेपाल पनि छन् । उनीहरू यो सिनेमाका कलाकार हुन् ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सिनेमालाई शुभकामना दिन प्रमुख अतिथिको रूपमा कार्यक्रममा आएका चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गीतमार्फत् तीन करोड नेपालीको मन जितेका प्रकाशले सिनेमामार्फत पनि त्यस्तै लोकप्रियता कमाउने बताए । आफूले प्रकाशमा सिंगो सिनेमा उद्योगलाई बोकेर हिँड्ने क्षमता देखेको बताए । ५ मिनेटको भिडियोमा कथा भन्न सक्ने प्रकाशले सिनेमा पनि त्यस्तै क्षमता प्रस्तुत गर्नेमा आफू ढुक्क रहेको बताए ।

सिनेमाको छायांकन भदौमा हुनेछ । सिनेमा आउँदो वर्षको चैते दसैँको छेको पारेर रिलिज हुनेछ।