साउन ४ मा लक्ष्मण सुवेदीको ‘सतीदेवी’ रिलिज घोषणा

साउन ४ मा लक्ष्मण सुवेदीको ‘सतीदेवी’ रिलिज घोषणा

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रंग पत्रकार लक्ष्मण सुवेदी निर्देशित तेस्रो सिनेमा ‘सतीदेवी’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार वितरक कम्पनीसँग कागजी सम्झौतापछि निर्देशक सुवेदीले आगामी साउन ४ गतेलाई सिनेमाको प्रदर्शन मिति घोषणा गरेका हुन् । अहिलेसम्म यो मितिमा अरु सिनेमा छैनन् । त्यसैले यो सिनेमा एकल रिलिजको सम्भावना देखिन्छ ।

यो सिनेमाको फस्र्टलुक पोस्टर सार्वजनिक भएपछि चर्चा चुलिएको थियो । सार्वजनिक पोस्टरमा अभिनेत्री मलिका महत जुत्ताको माला र कालो मोसो दलेको अवस्थामा चित्रित थिइन् । सिनेमाले विभिन्न महोत्सवहरुमा महत्त्वपूर्ण विधामा अवार्ड समेत जितिसकेको छ । यसले गर्दा पनि दर्शकलाई सिनेमा मनपर्नेमा निर्देशक सुवेदी विश्वस्त छन् ।

सिनेमामा मलिकाका अलवा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठ लगायतको अभिनय छ । दिलासा र साराको प्रस्तुति रहेको सिनेमाको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् । बाबु र छोरीहरुबीचको सम्बन्धको आरोह-अवरोहलाई सिनेमाको कथा बुनिएको छ ।

दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको सिनेमामा निर्देशक सुवेदी स्वयंको लेखन छ भने बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी छ । सिनेमाको वितरण काठमाडौं उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछ ।