‘खजुरे ब्रो’ प्रिमियर शोमा कस्ले के भने ?

‘खजुरे ब्रो’ प्रिमियर शोमा कस्ले के भने ?

द सिनेमा टाइम्स
322
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात् बैशाख २८ बाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘खजुरे ब्रो’ मंगलबार राजधानीमा प्रिमियर शोको आयोजना गरिएको थियो । यो सिनेमा बाट पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहले डेब्यु गरेकी छन् । उनकै कारण सिनेमाको चर्चा भइरहेको छ ।

यो सिनेमाबाट डेब्यु अगाडि नै चर्चामा रहेकी नीतिको अभिनयलाई लिएर धेरैमा चासो देखिन्छ । मंगलबार साँझ काठमाडौंको सिभिल मलस्थित क्यूएफएक्स हलमा भएको सिनेमाको प्रिमियरमा उनको अभिनयको परीक्षण भएको थियो । नीतिको पहिलो सिनेमा भएकाले प्रिमियरमा उनी नजिकका अभिनेत्रीदेखि पूर्व मिस नेपालसम्मको उल्लेख्य उपस्थिति रहेको थियो ।

सिनेमाको प्रिमियरमा पूर्व मिस नेपाल प्रियंका रानी जोशी, अभिनेत्री मलिका महत, भ्लगर सिसन बानियाँ, निर्देशकहरु लक्ष्मण सुवेदी, बसन्त निरौला, लेखक प्रदीप भारद्वाज, निर्माता किरण नेपाली लगायतको पनि उपस्थिति रहेको थियो ।

अभिनेत्री सन्ध्या केसीले नीतिको अभिनय ‘नेचुलर’ रहेको भन्दै प्रशंसा गरिन् । ‘नीतिको अभिनय ‘नेचुरल’ छ । उसलाई ठूलो पर्दामा देख्दा रमाइलो लाग्यो । सिनेमा राम्रो बनेको छ,’ उनले भनिन् । अर्की अभिनेत्री शुभेक्छा खड्काले सिनेमा रमाइलो बनेको प्रतिक्रिया दिँदै नीतिलाई पर्दामा हेर्दा खुसी लागेको बताइन् ।

मोडल ओसिन सिटौलाले सिनेमा ‘रिफ्रेसिङ’ लागेको सुनाइन् । सिनेमा हेर्न नीतिका बुबा-आमा पनि प्रिमियरमा पुगेका थिए । दुवैले पहिलो प्रयासमा छोरीले राम्रो काम गरेकोमा खुसी व्यक्त गरे । नीतिका बुबाले भने- ‘उसले चाहेको कुरा राम्रोसँग गरेको छ । उसको काम हेर्दा खुसी लाग्यो । पहिलो प्रयासमा जति गरेको छ, धेरै राम्रो छ ।’

सिनेमाको प्रिमियरमा मिलेको प्रतिक्रियाले खुसी देखिएकी नीतिले ‘खजुरे ब्रो’मा आफूले राम्रो काम गर्ने प्रयास गरेको बताइन् । ‘मेरो पहिलो सिनेमा हो । मैले आफ्नो तर्फबाट १ सय १० प्रतिशत दिएकी थिएँ,’ उनी भन्छिन्, ‘अरु सिनेमामा आफ्नो अभिनय क्षमता अझै निखार्दै जानेछु । यो अवसर दिनुभएकोमा निर्देशकसहित सबैलाई धन्यवाद दिन्छु ।’

सिनेमामा खजुरे पात्रको भूमिकामा अभिनय गरेका अभिनेता रेअर राईले सिनेमाका लागि आफूले ११ केजी तौल बढाएको बताए । उनले विरामी हुँदा पनि सिनेमामा काम गरेका थिए । ‘सिनेमाका लागि एक महिनामा ११ केजी मोटाएको थिएँ । कति दिनसम्म नुहाइनँ । फोहोर र धुलोले गर्दा म विरामी परेको थिएँ । एक हप्ता त मैले एन्टीबायोटिक खाएरै सुटिङ गरेको थिएँ । काम गर्दा दुःख पनि भयो र मज्जा पनि आयो । अहिले पर्दामा हेर्दा खुशी लाग्यो,’ उनले भने ।

सिनेमाका अर्का अभिनेता महेश त्रिपाठीले प्रिमियरमा प्राप्त प्रतिक्रियाले उत्साहित बनाएको बताए । ‘प्रतिक्रिया राम्रो पाएँ । सिनेमा हेर्दा इन्जोय गर्नुभएको छ,’ उनले भने, ‘सिनेमा सुरु हुनुभन्दा अगाडि मलाई डर थियो । तर, हलबाट निस्किँदा सबैले बधाई दिएपछि एककिसिमले मन शान्त भएको छ ।’ उनले सिनेमामा धरानको पात्रमा अभिनय गर्न गाह्रो भएको पनि अनुभव सुनाए ।

सुरज सुनुवारको लेखन तथा निर्देशनमा तयार भएको सिनेमामा नवीन मानन्धर, विनिता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीपचन्द्र राई, शान्तिला तामाङ लगायतको पनि अभिनय छ । नवीन मानन्धर र सुरज सुनुवार निर्माता रहेको सिनेमामा सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह-निर्मातामा छन् । डायमण्ड उप्रेती सिनेमाका कार्यकारी निर्माता हुन् ।