‘बोक्सीको घर’ हेरेपछि गगन थापाले गरे केकीको तारिफ

‘बोक्सीको घर’ हेरेपछि गगन थापाले गरे केकीको तारिफ

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री केकी अधिकारी निर्मित तथा अभिनित सिनेमा ‘बोक्सीको घर’ दोस्रो सातामा पनि राम्रो दर्शक संख्यासहित प्रदर्शनरत छ । यसैबीच बुधबार आमाको मुख हेर्ने दिनमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि यो सिनेमा हेरेका छन् ।

सिनेमा हेरिसकेपछि मिडियासँगको प्रतिक्रियामा उनले राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्नु नहुने बताए । उनले समाज आफैँ बदलिन्छ भनेर सन्तोष मानेर बस्न नहुने र राजनीतिक कार्यकर्ताहरुले समाज विकासको गति बढाउन आवश्यक रहेको सुनाए ।

उनले भने, ‘हामीले सन्तोष मान्नु हुँदैन । किन मान्नु हुँदैन भने समाज आफैँ बदलिरहेको छ, बदलिरहन्छ, बिस्तारै हुँदै जान्छ भनेर मात्रै हुँदैन । १० वर्षमा हुन्छ भनेर छोड्यौँ भने त हामी जस्तो राजनीतिक कार्यकर्ता किन चाहियो । यसको गति बढाउने काम हाम्रो हो ।’

सिनेमा बोक्सीको घरले समाज विकासका लागि ठूलो भूमिका खेलेको महामन्त्री थापाले बताए । ‘नेपाली समाज अझै बदलिन नसकेको र बदल्न आवश्यक रहेको भन्दै यसमा केकी अधिकारीको सिनेमाले ठूलो भूमिका खेल्छ । यति धेरै महिलाहरुले यौन हिंसामा आफ्नो जीवनमा व्यहोर्नुपरेको छ । आफ्ना नातागोताहरुबाट । यसलाई बाहिर बताउन सकेका छैनन् । नेपाली समाज धेरै बदलिएको छैन, बदल्नुपर्नेछ । यो सिनेमाले आधार दिएको छ’, उनले भने ।

अभिनेत्री केकी अधिकारीले सिनेमालाई देशभित्र र बाहिर पनि दर्शकले उच्च साथ दिएको बताइन् । सिनेमाले समाजमा रहेको विकृति र विसंगतिको बारेमा आवाज उठाएको भन्दै बोक्सीको घरलाई सिनेमामा मात्रै सिमित नगरी सिनेमाले उठाएका आवाजका बारेमा बहस हुन जरुरी रहेको अभिनेत्री अधिकारीले बताइन् ।

सिनेमामा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ । अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताइन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण भएको हो ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । सिनेमामा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।

सिनेमामा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले सिनेमाको वितरण अधिकार लिएको छ ।