पलले भने- ‘मेरो भुमिका ‘पुजार सार्की’मा सृजनशील र कौतुहलता जगाइराख्ने छ’

पलले भने- ‘मेरो भुमिका ‘पुजार सार्की’मा सृजनशील र कौतुहलता जगाइराख्ने छ’

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी जेठ १० गते रिलिज हुने सिनेमा ‘पुजार सार्की’का अभिनेता पल शाहले यो सिनेमामा अन्य कलाकारहरू जस्तै आफ्नो पनि महत्त्वपूर्ण भुमिका रहेको बताएका छन् । फेसबुकबाट आफ्ना प्रशंसकलाई सम्बोधन गर्दै शाहले निर्देशकको दृष्टिकोणबाट आफुलाई सृजनशील तवरले ट्रेलरमा देखाइएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘निर्देशकको आफ्नो दृष्टिकोणबाट ट्रेलरमा मलाई जति देखाउनु भएको छ, त्यो निकै सृजनशील र कौतुहलता जगाइराख्ने प्रकृतिको छ । सिनेमामा मेरो भूमिकाको बारेमा चासो राख्नुहुने सबैमा जेठ १० गतेदेखि नेपालभरका हलमा चुले निम्तो दिन चाहन्छु । हामी हलमै भेटौँला है ।’

‘पुजार सार्की’को ट्रेलरलाई एक दिनमा नै दश लाख पटक हेरेकोमा पलले खुसी व्यक्त गरेका छन् । उनले यो सिनेमाको ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसकेकोमा कारणसहित क्षमा मागेका छन् ।

‘म अर्को सिनेमा ‘रावायण’को छायांकनमा जनकपुर र सर्लाहीमा व्यस्त रहेका कारण सो समारोहमा निकै कोसिसका बाबजुद उपस्थित हुन सकिन, त्यसको लागि क्षमा चाहन्छु’, शाहले लेखेका छन्, ‘मैले यो सिनेमामा अन्य सिनेमा भन्दा निकै फरक, जटिल र महत्त्वपूर्ण भूमिकामा अभिनय गरेको छु । ट्रेलरबाट तपाईले मेरो अभिनयबारे राख्नुभएको चासो र समर्थनप्रति आभारी छु ।’

आफूसहित सहकर्मी अभिनेताहरू आर्यन सिग्देल र प्रदीप खड्काको एक तस्बिर शेयर गरी प्रशंसकलाई सम्बोधन गर्ने क्रममा उनले लेखेका छन्, ‘मेरा प्रशंसकहरूबाट पाइरहेको प्रतिक्रिया र गुनासाहरू मैले हेरिरहेको छु । यो सबैको लागि म धन्यवाद व्यक्त गर्न चाहन्छु । ‘पुजार सार्की’मा मेरो छोटो भूमिका रहेको भन्ने फ्यानहरूको गुनासोबारे म यो प्रस्ट पार्न चाहन्छु कि यो सिनेमामा मेरो स्क्रिन टाइम केही मात्रामा थोरै होला तर अन्य कलाकारहरूको जस्तै महत्त्वपूर्ण भूमिका भने रहेको छ ।’

सिनेमामा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परिक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहेको छ ।

किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण भएको सिनेमा दिनेश राउतले निर्देशन गरेका हुन् । सिनेमाको कथा तथा पटकथा विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले प्रकाशमा सहकार्य गरेका थिए । सिनेमालाई संगीतकार सुवास भुषालले निर्माण गरेका हुन् । सिनेमाका गीतमा संगीत समेत उनी आफैले भरेका छन् ।

राजेश श्रेष्ठको डिओपी रहेको सिनेमामा भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ र हिमाल केसीले द्वन्द्व निर्देशन रहेको छ । सिनेमाको पोस्टर डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो । यो सिनेमालाई नेपालमा आरआर फिल्मस् र विदेशमा एमएसएमले वितरण गर्दैछन् ।