शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आयो ‘खजुरे ब्रो’

शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आयो ‘खजुरे ब्रो’

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आज शुक्रबारबाट ‘खजुरे ब्रो’ सार्वजनिक प्रदर्शनमा आएको छ । यही सिनेमाबाट पूर्वमिस इन्टरनेशनल नेपाल नीति शाहको सिनेमा करिअरको सुरुवात भएको हो । उनकै कारण यो सिनेमाप्रति दर्शकमा चासो समेत रहेको छ ।

सिनेमाले मल्टीप्लेक्सहरुमा न्यून शोज पाएको छ । यद्यपि, केही शोजहरुमा अकुपेन्सी राम्रो देखिन्छ । अब ‘वर्ड अफ माउथ’ कस्तो रहनेछ, त्यसले सिनेमाको भविष्य निर्धारण गर्नेछ । प्रदर्शनअघि काठमाडौं र धरानमा सिनेमाको प्रिमियर गरिएको थियो । सिनेमाले धरानमा बस्ने दुई अल्लारे युवाको विन्दास जीवन र पैसाका लागि गरेको संघर्षको कथा भन्छ ।

सुरज सुनुवारको निर्देशन बनेको सिनेमामा नीतिसहित रेअर राई, महेश त्रिपाठी, नविन मानन्धर, विनिता थापा मगर, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई लगायतको पनि अभिनय छ । नविन मानन्धर तथा निर्देशक सुनुवार निर्माता रहेको सिनेमाको सह–निर्मातामा सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर छन् । डायमण्ड उप्रेती भने कार्यकारी निर्माता हुन् ।

डेव्यु अभिनेत्री नीति भने काठमाडौंबाट विरामी बुबा भेट्नका लागि धरान गएकी युवतीको भूमिकामा छिन् । कुनै समय धरानमा निकै चर्चित मानिएका खजुरे अर्थात् अनिल सिंहबाट प्रभावित भएर सिनेमा बनेको हो, जसको केही वर्षअघि निधन भइसकेको छ । त्यो पात्रमा रेअरले अभिनय गरेका छन् । अनमोल गुरुङको संगीत रहेको सिनेमामा शिशिर विशंखेको छायांकन र मित्र डि गुरुङको सम्पादन छ ।