‘वर एण्ड वधु’मा आँचल र विवेकको एक्सन

‘वर एण्ड वधु’मा आँचल र विवेकको एक्सन

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री आँचल शर्मा र डेव्यु अभिनेता विवेक कर्माचार्यको मुख्य भुमिका रहेको सिनेमा ‘वर एण्ड वधु’को हाल धमाधम दोस्रो चरणको छायांकन भैरहेको छ । लामो समयदेखि रोकिएको सिनेमाको छायांकन बैशाख पहिलो हप्ताबाट सुरु गरिएको हो ।

सिनेमाको बिहीबार एक्सन दृश्यको छायांकन गरिएको थियो । जहाँ डेव्यु अभिनेता विवेक र आँचलले एक्सन गरेका थिए । केही समय अगाडि अभिनेत्री आँचल शर्माले सामाजिक सञ्जालमा एक्सन सिकिरहेको भिडियो सेअर गरेकी थिइन् । त्यसले उनको एक्सन सिनेमामा काम गर्ने भोक दर्शाएको थियो ।

अन्ततः उनको त्यो इच्छा सिनेमा ‘वर एण्ड वधु’मा पूरा भएको हो । यो सिनेमामा आँचलले फरक शैलीमा एक्सन गरेकी छन् । सिनेमामा उनले ५ इन्च अग्लो हिल जुत्ता र वान पिस लगाएर एक्सन गरेकी हुन् । छायांकन सेटबाट प्राप्त एक तस्वीरमा उनलाई सुटबुटमा ठाटिएका भिलेनहरुसँग भिडिरहेको देख्न सकिन्छ । उनले छरितोसँग एक्सन गरेको सिनेमाका द्वन्द्व निर्देशक हिमाल केसीले जानकारी दिए ।

हिमालले भने- ‘आँचलको काम गर्ने शैली मलाई साँच्चै गजब लाग्यो । एक्सनमा उनले जुन तरिकाले काम गरिन्, त्यसले उनी सोलो एक्सन सिनेमामा पनि काम गर्न सक्छिन् भन्ने देखाउँछ ।’ यता डेव्यु अभिनेता विवेकको एक्सन देखेर दर्शकहरु दंग पर्ने हिमालको दाबी छ ।

मिलन चाम्सको निर्देशनमा निर्माण भैरहेको सिनेमामा किरण केसी, कुशुम शर्मा, हिमेश पन्त, सृष्टि खड्का लगायतको पनि अभिनय छ । सिनेमाको अझै एक हप्ताभन्दा बढी समय छायांकन हुने चाम्सले बताए । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भैरहेको सिनेमाका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । यो सिनेमाको पहिलो चरणको छायांकन भने रोमानियामा गरिएको थियो ।

‘वर एण्ड वधु’मा विशेष भूमिकामा गरिमा शर्माले पनि अभिनय गर्ने भएकी छन् । उनले बिहीबार सिनेमाको सेट ज्वाइन गरेकी हुन् । उनको भूमिकाबारे निर्माण टिमले केही जानकारी गराएको छैन । तर, सिनेमामा उनको उपस्थिति अर्थपूर्ण रहने जनाइएको छ ।