द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक प्रदीप भट्टराई निर्देशित सिनेमा ‘महाजात्रा’ले प्रदर्शनको ५१औं दिन पुरा गरेको छ । गत वर्षको चैत ९ गतेबाट प्रदर्शनमा आएको सिनेमाले शनिबार काठमाडौं र मोफसल गरी १० वटा हलमा ५१औं दिन मनाएको हो । गत वर्षको सफल सिनेमा ‘जारी’पछि धेरै हलमा ५१औं दिन मनाउने सिनेमा ‘महाजात्रा’ बनेको छ ।
सिनेमाले काठमाडौंमा क्यूएफएक्स, बिग मुभिज, एफक्युब सिनेमाज्, आइएनआइ सिनेमाज्, वान सिनेमाज्, बीएसआर मुभिज्, रञ्जना सिनेप्लेक्स, सिने द सेफ, सिके सिनेमाज् र मोफसलतर्फ नेपालगञ्जस्थित सिने रोयलमा ५१औं दिन मनाएको हो । शनिबार दिउँसो सुन्धारास्थित क्यूएफएक्स हलमा सिनेमाको ५१औं दिनको सेलिब्रेसन कार्यक्रम राखिएको थियो । सिनेमाले नेपालमा १६ करोड ग्रस कमाएको जानकारी निर्माण टिमले दिएको छ ।
यसअघि ‘जात्रा’का अघिल्ला दुई श्रृंखलाले पनि ५१औं दिने सेलिब्रेसन गरेका थिए । योसँगै विगत एक दशकमा नेपालमा सबैभन्दा बढी ५१औं दिन मनाउने सिनेमा दिने निर्देशक प्रदीप भट्टराई बनेका छन् । ‘जात्रा’का तीन श्रृंखलासँगै उनी निर्देशित ‘शत्रु गते’ र ‘महापुरुष’ले पनि ५१औं दिने रेकर्ड बनाएका थिए ।
प्रदीप भट्टराईकै लेखन रहेको ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दिव्य देव, गौमाया गुरुङ, सुमन कार्की लगायतको अभिनय छ ।



प्रतिक्रिया