द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री पूजा शर्माको निर्माण तथा अभिनय रहेको छायांकनरत सिनेमा ‘रावायण’का तीन गीतको रेकर्ड भारतमा गरिएको छ । सिनेमाको शीर्ष गीत, रोमान्टिक गीत र आइटम गीत भारतमा रेकर्ड गरिएको हो ।
सिनेमाको शीर्ष गीतमा भारतीय गायक नकासा अजीजको स्वर छ । नकासाले बलिउड सिनेमा ‘बजरंगी भाइजान’को ‘सेल्फी ले ले रे’, ‘फेन्टम’को ‘अफगान जलेबी’, ‘आर राजकुमार’को ‘सारी के फल से’, ‘ट्युबलाइट’को ‘नाँच मेरी जान’ र ‘उचाइँ’को ‘केटी को’ जस्ता गीतमा स्वर दिएका छन् ।
त्यस्तै सिनेमाको रोमान्टिक गीतमा कुनाल गान्जावालाको स्वर छ । कुनालले बलिउड सिनेमा ‘मर्डर’को ‘भिगे ओठ तेरे’, ‘पार्टनर’को ‘दुपट्टा तेरा’, ‘शीसा’को ‘यार को मेने’, ‘धुम’को ‘सलामे’ लगायतका गीत चर्चित छन् ।
सिनेमामा समावेश हुने आइटम गीतमा सोनु कक्करको स्वर छ । सोनुले गाएका बलिउड सिनेमा ‘दम’ को ‘बाबु जी जरा धिरे चलो’, ‘जिष्म २’ को ‘ये कसुर’, ‘क्वीन’ को ‘लण्डन’ लगायतका गीत लोकप्रिय छन् ।
तीनवटै गीतमा भारतीय संगीतकार रेवन सिंह र निरज सिंहको संगीत छ । संगीतकार रेवन भारतमा रुचाइएका संगीतकार, गायक, गीतकार, ब्याकग्राउण्ड स्कोरर, वाद्यवादक हुन् । भारतीय चर्चित संगीतकार कैलाश खेरको स्टुडियोका संगीतकार, साउण्ड इञ्जिनियर र मिक्सिङ इञ्जिनियर निरज २० वर्ष बढी समयदेखि बलिउड संगीत क्षेत्रमा सक्रिय छन् ।
मुम्बई विश्वविद्यालयबाट पास आउट रहेका रेवनले बलिउडका चर्चित गायक गायिका र संगीतकार, साउण्ड इञ्जिनियर र मिक्सिङ इञ्जिनियरसँग काम गरिसकेका छन् । उनले रेडियो मिर्ची म्यूजिक अवार्ड, ग्लोबल इण्डियन म्युजिक एकेडेमी अवार्ड (गीमा) र इण्डियन रेकर्डिङ आर्टस् अवार्ड (इरा) लगायतका अवार्ड जितेका छन् ।
सिनेमालाई सुदर्शन थापाले निर्देशन गरिरहेका छन् । सिनेमामा पूजाका अलवा पल शाह, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल र प्रदीप ढकाललगायतको अभिनय छ ।
सिनेमामा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको एक्सन छ । सिनेमालाई काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।


प्रतिक्रिया