कान्समा सहभागी हुँदै मेयर बालेन

कान्समा सहभागी हुँदै मेयर बालेन

द सिनेमा टाइम्स
126
Shares

द सिनेमा टाइम्स, काठमाडौं – विश्वप्रसिद्ध कान्स सिनेमा महोत्सवमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सहभागी हुने भएका छन् । सोमबार राती सल्लाहकारसहित बालेन कान्सका लागि फ्रान्स जाँदैछन् ।

कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा फ्रान्स जान लागेका बालेनले महोत्सवमा तीन दिन बिताउनेछन् । कान्समा आयोजना हुने विविध कार्यक्रममा उनको सहभागिता रहनेछ । मेयर लिसनार्ड र महोत्सव निर्देशकसँग बालेनको भेटवार्ता तय भएको छ । यसबाहेक महोत्सवको रेडकार्पेट र प्रिमियरमा पनि उनी सहभागी हुनेछन् ।

बालेनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना गरिएको छ । बालेनले कान्स बसाइमा त्यहाँको अडियो–भिजुअल कन्टेन्ट क्रिएसन चेनको अवलोकन समेत गर्नेछन् । राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले नेपालको राजधानी काठमाडौंलाई ‘सिनेमाको रचनात्मक सहर’को रुपमा २०८० सालको कात्तिकमै सूचीकृत गरेको छ ।

फ्रान्सको कान्स सहर पनि सिनेमाको ‘क्रिएटिभ सिटी’को एक सदस्य हो । सिनेमाको रचनात्मक सहरको रुपमा सूचीकृत भएपछि यतिबेला महानगरपालिका कार्यविधि निर्माणमा जुटिरहेको छ । २०८१ सालदेखि नै सिनेमा महोत्सवसहितका कार्यक्रम आयोजना गर्ने तयारी महानगरपालिकाको छ ।

७७ औं कान्स महोत्सव मे १४ देखि २५ सम्म आयोजना हुँदैछ । कान्समा यस वर्ष नेपालमा छायांकन भएको सिनेमा ‘द सेमलेस’ र नेपाली भाषाको सिनेमा ‘तारा : अ लस्ट स्टार’ छनोट भएका छन् । नेपाली सिनेमा भने यो वर्षको कान्समा छनोट भएका छैनन् ।