‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक

‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक

द सिनेमा टाइम्स
189
Shares

द सिनेमा टाइम्स, काठमाडौं । यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने सिनेमा ‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ ।

मंगलबार सार्वजनिक गरिएको गीतका दृश्यहरूमा पुजारको चरित्रमा रहेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको प्रेम प्राप्तिमा देखिएका पीडालाई देखाइएको छ भने मैतबहादुरको भूमिकामा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको प्रेम प्राप्तिको सकसलाई पनि स्थान दिइएको छ । गीतका दृश्यबाट अन्तरजातीय प्रेमबाट उब्जिएका सामाजिक र पारिवारिक समस्याहरूलाई प्रस्ट पार्न खोजिएको छ ।

गीतमा बि पाण्डेले शब्द रचना गरेका छन् भने केतन क्षेत्रीको स्वर रहेको छ । ‘जाऊँ माया’ गीतका शब्दले समाजले प्रेम अस्वीकार गरेपश्चात् नौ डाँडा काटेर जान प्रेमीकालाई आग्रह गरेको कुरा जनाउँछन् ।

सिनेमाका यसअघि सार्वजनिक ट्रेलर, टिजर, पोस्टर र गीतहरू रुचाइएको छ । ट्रेलर रिलिजसँगै प्रदीपको अभिनयको प्रशंसा भइरहेको छ भने आर्यन र पलले निभाएको फरक भूमिकाको पनि चर्चा भइरहेको छ । अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ । मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि यस सिनेमामा अभिनय रहेको छ ।

‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन् । राउतले यो सिनेमालाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने आफ्नो प्रयास रहेको जनाएका छन् । प्रसाद, क्लासिक, नोभेम्बर रेन, प्रकाश लगायतका सफल सिनेमाका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन् । यो सिनेमालाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले प्रकाशमा सहकार्य गरेका थिए ।

सिनेमालाई सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो सिनेमा नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।