जेठ १० बाट नेपालसहित विदेशमा पनि ‘फर्की फर्की’ रिलिज हुने

जेठ १० बाट नेपालसहित विदेशमा पनि ‘फर्की फर्की’ रिलिज हुने

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनमोल केसी र जसिता गुरुङको मुख्य भुमिका रहेको सिनेमा ‘फर्की फर्की’ नेपालसहित विदेशमा पनि एकैदिन रिलिज हुने भएको छ । निर्माण कम्पनी रोहित अधिकारी फिल्मस्ले बुधबार एक विज्ञप्ति जारी गर्दै जेठ १० बाट ‘फर्की फर्की’ नेपाल र विदेशमा एकसाथ रिलिज हुने जनाएको हो ।

निर्माता अधिकारीले दिएको जानकारी अनुसार सिनेमाको अमेरिकामा एक हप्तामा ३०० बढी शो र अष्ट्रेलियामा एक हप्तामा ५०० बढी शो तय भएका छन् । अमेरिका वितरक प्याट्रिक सुवेदीले अमेरिकाका धेरै सहरमा सिनेमा लाग्ने बताएका छन् । अष्ट्रेलियामा नमस्ते इन्टरटेनमेन्टले ‘फर्की फर्की’ रिलिज गर्दैछ । अष्ट्रेलियामा हुने प्रदर्शन तालिका सार्वजनिक भइसकेको छ ।

यो सिनेमालाई मध्यपूर्वमा रमेश ढकालले रिलिज गर्दैछन् । जापान, हङकङ, दक्षिण कोरिया, बेलायत, माल्टा र न्युजिल्याण्डमा पनि सिनेमा लाग्ने पक्का भएको निर्माण कम्पनिले जनाएको छ । भारत प्रदर्शन केही दिनमा पक्का हुने जनाइएको छ । पछिल्लो समय नेपाली सिनेमा घरेलुसहित विश्वव्यापी प्रदर्शनमा आइरहेका छन् ।

सुयोग गुरुङले लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा अनमोल र जसिताका अलवा कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता सलोन बस्नेत बिशेष भुमिकामा देखिएका छन् ।

रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका निर्माता ओम प्रकाश अग्रवाल र रोहित अधिकारी हुन् । सिनेमाका सह-निर्माता मनोज ओली र रामु न्यौपाने हुन् भने मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

यो सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, रोमन बज्रचार्य र नरेन लिम्बूको संगीत तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन र शंकर पाण्डेले प्रोडक्सन म्यानेजरको रुपमा काम गरेका छन् । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने प्रोडक्सनले वितरण गर्दैछन् ।