हलिउड सिनेमा ‘मेगालोपोलिस’ वर्ल्ड प्रिमियरमा सहभागी हुँदै मेयर बालेन

हलिउड सिनेमा ‘मेगालोपोलिस’ वर्ल्ड प्रिमियरमा सहभागी हुँदै मेयर बालेन

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विश्वप्रसिद्ध सिनेमा महोत्सव कान्समा सहभागी हुन फ्रान्स पुगेका छन् । मेयर शाह आज बिहीबार हलिउडका सफल निर्देशक फ्रान्सिस फोर्ड कोपोला निर्देशित सिनेमा ‘मेगापोलिस’को वर्ल्ड प्रिमियरमा सहभागी हुने भएका छन् ।

नेपाली समयानुसार राति १० बजे हुने वर्ल्ड प्रिमियरमा मेयर शाहले भाग लिने सल्लाहकार कुमार व्यञ्जनकारले बताए । ‘भीभीआईपीको लागि मेगालोपोलिसको प्रिमियर राखिएको छ’, जानकारी व्यञ्जनकारले भने । मेयर बालेन आज सिनेमाको वर्ल्ड प्रिमियरका साथै कान्सको रेडकार्पेटमा समेत सहभागी हुनेछन् ।

कान्सको रेडकार्पेट प्रिमियरमा सहभागी हुनभन्दा अगाडी सोही सहरका मेयर डेभिड लिसनार्डसँग मेयर शाहको भेटवार्ता गर्दैछन् । ‘मेगालोपोलिस’ यस वर्षको प्रतीक्षित हलिउड सिनेमा हो । रेडकार्पेटमा निर्देशक कोपोलासहित कलाकारहरु एडम ड्राइवर, नाताली इमानुएल पनि सहभागी हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

साइन्स फिक्सन-ड्रामा ‘मेगालोपोलिस’बाट कोपोला १३ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन् । पाँच पटक ओस्कार र ६ पटक गोल्डेन ग्लोब्स जितेका कोपोला ‘गडफादर’ निर्देशकको रुपमा परिचित छन् । यो सिनेमाले विश्व सिनेमा निर्माणमा ग्याङस्टर जनरामा क्रान्ति ल्याएको मान्यता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको छ ।