‘गाउँ आएको बाटो’ले घोषणा गर्यो ‘चिठ्ठी प्रतियोगिता’

‘गाउँ आएको बाटो’ले घोषणा गर्यो ‘चिठ्ठी प्रतियोगिता’

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नवीन सुब्बाको निर्देशनमा निर्माण भएको सिनेमा ‘गाउँ आएको बाटो’ले ‘चिठ्ठी प्रतियोगिता’को आयोजना गरेको छ । निर्माण टिमले बिहीबार एक पोस्टर सार्वजनिक गर्दै आफ्ना बुबालाई आफ्ना छोराछोरीलाई चिठ्ठी लेख्नुहोस र पढेर भिडियो बनाउनुहोस अनि जित्नुहोस आर्कषक मोबाइल फोन भन्ने सिनेमा प्रचार कार्यक्रम अगाडी सारेको हो ।

निर्माण टिमले जेठ ३ गतेबाट २२ गतेसम्म पठाइएका भिडियोलाई प्रतियोगितामा सहभागी गराइने उल्लेख गरेको छ । यसका साथै हरेक प्रतियोगीले चिठ्ठी प्रतियोगिताको भिडियोमा अनिवार्य रुपमा सिनेमाको नाम र प्रदर्शन मिति राखेको हुनु पर्नेछ । त्यसका उक्त भिडियो निर्माण कम्पनि बाँसुरी फिल्मस्को पेजमा ट्याग गर्नुका साथै बाँसुरी फिल्मस्को युट्युब च्यानल सब्सक्राइभ गरेको हुनु पर्नेछ ।

यो प्रतियोगितमा प्रथम हुनेले ‘होनोर एक्सनाइनबी’, दोस्रो हुनेले ‘होनोर एक्सएटबी’ र तेस्रो हुनेले ‘होनोर एक्ससेभेनबी’ पुरस्कार स्वरुप जित्नेछन् । प्रतियोगीले निर्माण गरेको चिठ्ठी भिडियो सिनेमाको आधिकारिक इमेल [email protected] मा पठाउनु पर्नेछ ।

‘गाउँ आएको बाटो’ले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकाडालो बनाएर जीवनयापन गर्ने माइला (दयाहाङ राई), माइली (पशुपति राई) र उनीहरूको सातवर्षे छोरा बिन्द्रे (प्रसान राई)को जीवनमा उक्त गाउँमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तन र संघर्षको कथा पेस गर्नेछ ।

एक परिवारले पछ्याउँदै आएको परम्परागत जीवनशैलीमाथि के गर्ने भनेर मूल पात्रले लिने निर्णयमा सिनेमाको कथा केन्द्रित रहेको बताइएको छ । बाबुआमा र उनीहरूको छोरा विकाससँगै बदलिएको परिस्थितिमा नयाँ संसारमा कसरी घुलमिल हुन्छन् र सपना फेरिन्छन् भन्ने कथा चलचित्रले भन्नेछ ।

‘गाउँ आएको बाटो’ आउँदो जेठ २५ गते रिलिज हुँदै छ । सिनेमामा दयाहाङ राई, पशुपति राई र प्रसान राई प्रमूख भूमिकामा छन् । ‘नुमाफुङ’ बनाएर फरक धारका सिनेमाका लागि प्रशंसा बटुलेका सुब्बाको यो तेस्रो सिनेमा हो । उनले बनाएको दोस्रो सिनेमा ‘गुडबाई काठमाडौं’ भने सार्वजनिक प्रदर्शनमा आएको छैन ।

टोरोन्टो र बुसान फिल्म फेस्टिभलमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा लेखनमा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा गरेका छन् । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको सिनेमाका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् ।

यो सिनेमाको अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद गरेको छ । सिनेमाको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् ।