‘गाउँ आएको बाटो’ नेपाल अमेरिका सिनेमा महोत्सवमा प्रिमियर हुने

‘गाउँ आएको बाटो’ नेपाल अमेरिका सिनेमा महोत्सवमा प्रिमियर हुने

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल अमेरिका अन्तर्राष्ट्रिय सिनेमा महोत्सवले ओपनिङ र क्लोजिङ कार्यक्रममा प्रदर्शन गरिने सिनेमाको घोषणा गरेको छ ।

ओपनिङ सिनेमाको रुपमा नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को अमेरिका प्रिमियर तय भएको छ । जुन २० मा सिनेमाको स्क्रिनिङ हुने जनाइएको छ । सन् २०२३ मा टोरन्टोमा विश्व प्रिमियरसँगै ‘गाउँ आएको बाटो’ले बुसान, मुम्बई, बेइजिङ लगायतका प्रसिद्ध महोत्सवमा सहभागिता जनाइसकेको छ ।

सिनेमा नेपाल र डायस्पोरा रिलिज जेठ २५ गते हुँदैछ । आमोद राईले निर्माण गरेको सिनेमामा दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईको अभिनय छ । गाउँमा सडक पुगेपछि त्यसले बाबुछोराको सम्बन्धमा ल्याउने उतारचढावको कथा सिनेमाले पेश गर्छ ।

महोत्सवको समापन सिनेमाको रुपमा ‘द रेड सुटकेस’ स्क्रिनिङ हुनेछ । भेनिस सिनेमा महोत्सवमा विश्व प्रिमियर भैसकेको यो फिल्मलाई फिडेल देवकोटाले निर्देशन र रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् ।

सिनेमामा सौगात मल्ल, बिपिन कार्की, सृष्टि श्रेष्ठको शीर्ष भूमिका छ । वैदेशिक रोजगारीको सामाजिक आयामलाई प्रस्तुत गर्ने यो सिनेमाले उत्कृष्ट समीक्षा प्राप्त गरेको छ । अमेरिकामा यो पहिलोपटक स्क्रिनिङ हुन लागेको हो ।

महोत्सवको पूर्ण लाइन-अप भने चाँडै सार्वजनिक गर्ने तयारी रहेको आयोजक नेपाल अमेरिका सिनेमा सोसाइटीका प्रमुख पूर्णसिंह बराइलीले जानकारी दिए । ‘महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यसपटकको संस्करणलाई भव्य तुल्याउने हाम्रो तयारी छ’ उनले भने ।

‘गाउँ आएको बाटो’ सिनेमाका निर्माता राईले महोत्सवको हिस्सा हुन पाउँदा खुसी लागेको बताए । ‘सांस्कृतिक विविधतालाई मनाउने यो राम्रो अवसर हो’ उनले भने ।

‘द रेड सुटकेस’का निर्माता पोखरेलले सिनेमाको छनोट हुनु सम्मानको कुरा भएको बताए ।

नेपाल अमेरिका सिनेमा महोत्सव अमेरिकाको मेरिल्याण्डमा आयोजना हुँदै आएको छ । यसवर्षको संस्करण जुन २० देखि २३ (असार ६ देखि ९) सम्म आयोजना हुँदैछ ।