साइग्रेसको अडियो कथा ‘अधुरो प्रेम’मा सिनेमा निर्माण हुने

साइग्रेसको अडियो कथा ‘अधुरो प्रेम’मा सिनेमा निर्माण हुने

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कथावाचक साइग्रेस पोख्रेलको अडियो कथा ‘अधुरो प्रेम’मा सिनेमा निर्माण हुने भएको छ । शनिबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६०औँ शृंखलामा साइग्रेस स्वयंले सिनेमाको निर्माण घोषणा गरेका हुन् ।

कोरियोग्राफर शिशिर खातीले निर्देशन डेव्यु गर्ने सिनेमाको एक थिम पोस्टर सार्वजनिक गर्दै सिनेमाको विषयमा जानकारी दिइयो । अघिल्लो वर्ष सिनेमा ‘रङ्गेली’ निर्माण गरेको कम्पनी प्लानेट थ्री फिल्म्सको प्रस्तुतिमा निर्माण हुने सिनेमाको कार्यकारी निर्माता अर्जुन सुवेदी हुन् । अडियो नोबेल ‘अधुरो प्रेम’कै नाममा बन्ने सिनेमालाई आगामी वर्ष २०८२ मा रिलिजको लक्ष्य राखिएको छ ।

सिनेमाका लागि अहिले कलाकारहरुसँग छलफल भइरहेको निर्देशक खातीले बताएका छन् । सिनेमाका निर्माण नियन्त्रक मनोज जोशी हुन् । साइग्रेसले आफ्नो जीवनको एक समयमा भएको प्रेममा यो कथा तयार पारेका हुन् । आफ्नो कथामा सिनोमा बन्न लागेकोमा त्यसको जस दर्शकलाई दिँदै उनले यो कथा आफ्नो मुटुको सबैभन्दा नजिकको रहेको स्मरण गरे ।

साइग्रेसलाई सुरुमा ‘अधुरो प्रेम’मा सिनेमा निर्माणका लागि अनुमति दिन एकदमै डर लागेको रहेछ । तर, शिशिरप्रतिको आत्मविश्वासले कथा दिएको साइग्रेस बताउँछन् । शिशिर भने साइग्रेसको आवाजको ठूलो फ्यान हुन् ।

‘मैले ७/८ महिनादेखि सिनेमाको विषयलाई लिएर उहाँलाई पछ्याइरहेको थिएँ । धेरैपटक भन्ने कोसिस पनि गरेँ, तर भन्न सकिनँ । एकदिन अर्जुन सुवेदीले भेट्दै हुनुहुन्छ भन्ने थाहा पाएपछि उहाँलाई भेटाइदिन आग्रह गरेँ । भेटपछि मेरो सबै कुरा राखेँ, उहाँ मान्नुभयो,’ उनले भने । शिशिरले यसअघि दर्जनौँ गीतमा कोरियोग्राफी गरेका छन् ।

साइग्रेस आफ्नो बुलन्द आवाज र कथा वाचनको शैलीको माध्यमबाट संसारभर चर्चित छन् । विशेषगरी युवापुस्तामा उनको गजबको क्रेज देखिन्छ । कथावाचक साइग्रेसले आफ्नै युट्युब च्यानलमा करिब तीन वर्षअघि अपलोड गरेको १ घण्टा ४६ मिनेट लामो ‘अधुरो प्रेम’ हालसम्म ६२ लाखभन्दा बढी पटक सुनिसकिएको छ । यसलाई अडियो सुन्ने अन्य प्लेटफर्महरूमा समेत लाखौँपटक सुनिएको छ ।