विराजको ‘१२ गाउँ’को शुभमुहूर्त, समीरले दिए मुहूर्त सर्ट

विराजको ‘१२ गाउँ’को शुभमुहूर्त, समीरले दिए मुहूर्त सर्ट

द सिनेमा टाइम्स
315
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहने सिनेमा ‘१२ गाउँ’को शुभमुहूर्त गरिएको छ । यही सिनेमाबाट उनका छोरा समीर भट्ट डेब्यु गर्दैछन् । उनी ‘बलिदान’बाट डेब्यु गर्ने तयारीमा थिए । यो सिनेमाको सेट डिजाइन र अन्य प्राविधिक कारणले निर्माणमा ढिलाई हुने भएपछि उनले पिताको सिनेमा ‘१२ गाउँ’बाट डेब्यु गर्ने भएका हुन् ।

सोमबार ललितपुरस्थित हात्तीबनमा सिनेमाको शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको छ । सिनेमाका लागि पहिलो दृश्य समीरको खिचिएको जनाइएको छ । विराज स्वयंको मुख्य भूमिका सिनेमामा रहनेछ भने अभिनेत्रीमा सनिशा भट्टराई र न्यान्सी खड्का छन् । दुवैको यो डेब्यु सिनेमा हो । सनिशाले दर्जनौं म्यूजिक भिडियोमा काम गरिसकेकी छन् भने न्यान्सी पूर्वमिस नेपाल इन्टरनेशनल हुन् ।

सिनेमामा मुरलीधर, कालु राना, सन्तोष सरकार, शुलेमान शंकर ‘इकु’ लगायतका पनि कलाकारको पनि अभिनय रहनेछ । महेश पौडेल छायांकन रहेको सिनेमाको विरगञ्ज र हेटौंडामा पनि छायांकन गरिनेछ । एक्सन-थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् ।

तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भाको सिनेमामा द्वन्द्व निर्देशनसँगै विशेष भूमिकामा अभिनय पनि रहने जनाइएको छ । उनी केही दिनमा नेपाल आउँदैछन् । ‘१२ गाउँ’पछि समीरले आगामी साउनदेखि ‘बलिदान’मा काम गर्नेछन् ।

विराजका छोरा समीरले लामो समयदेखि मुम्बई बसेर अभिनय, नृत्य, मार्सल आर्ट तथा द्वन्द्वको कक्षा लिएका थिए । जब विराजले ‘१२ गाउँ’बाट छोराको डेब्यु निश्चित गर्दै आफ्नो सामाजिक सञ्जालबाट तस्वीर सार्वजनिक गरेका थिए, त्यसपछि धेरै मेकरको नजर समीरमा परेका हुन् । उनलाई नेपाली सिनेमा क्षेत्रका अबका स्टारको रुपमा हेरिएको छ ।