‘पूजार सार्की’ अग्रिम टिकट बुकिङ सुरु

‘पूजार सार्की’ अग्रिम टिकट बुकिङ सुरु

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतको निर्देशनमा निर्माण भएको सिनेमा ‘पूजार सार्की’ बिहीबार बुद्ध जयन्तीबाट प्रदर्शनमा आउने सिनेमाको अग्रिम टिकट बुकिङ सुरु भएको छ ।

सिनेमाले देशभरका मल्टीप्लेक्सहरुमा राम्रो शो प्राप्त गरेको छ । देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले आफ्नो देशभरको स्टेशनमा कूल ५८ शो मध्ये काठमाडौं उपत्यकामा २७ शोज र मोफसलमा ३१ शो दिएको छ । दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआईले कूल १२ शोज उपलब्ध गराएको छ भने वान् सिनेमाजले नयाँ बानेश्वर र कालिमाटी हलमा गरी ९ शोज दिएको छ ।

त्यसैगरी, काठमाडौंको बिग मुभिज, सिडिसी सिनेमाज् र विएसआर मुभिजले समान ५/५ शोज र एफक्युबले ७ शो बाँडेका छन् । अन्य केही हलमा बुकिङ खुल्न बाँकी छ । उपत्यकाबाहिरका पोखरा, चितवन, धरान, विराटनगर, नेपालगञ्ज क्षेत्रका हलमा पनि सिनेमाले राम्रो शो प्राप्त गरेको छ । सिनेमाले देशभरका मल्टीप्लेक्स हलमा मात्र डेढ सय बढी शोज पाउने देखिन्छ ।

सिनेमाले जातीय विभेदविरुद्ध तीन पात्रले गर्ने संघर्षको कथा भनेको छ । सिनेमामा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ ।

किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण भएको सिनेमामा विकास सुवेदीको लेखन रहेको छ । सिनेमालाई संगीतकार समेत रहेका सुवास भुसालले निर्माण गरेका हुन् । राजेश श्रेष्ठको डिओपी रहेको सिनेमालाई भरत रेग्मीले सम्पादन गरेका हुन् ।