चलचित्र पत्रकार संघ नेपालले मनायो रजत जयन्ती, क-कस्ले पाए सम्मान र पुरस्कार ?

चलचित्र पत्रकार संघ नेपालले मनायो रजत जयन्ती, क-कस्ले पाए सम्मान र पुरस्कार ?

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा पत्रकारिता दिवस तथा २५औं वार्षिक उत्सव समारोहमा पत्रकारहरु सम्मानित तथा पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ नेपालले उनीहरुलाई सम्मानित तथा पुरस्कृत गरेको हो ।

उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठको प्रमुख आतिथ्यमा संघले सिनेमा पत्रकारिता दिवस तथा संघको २५औं वार्षिक उत्सब (रजत वर्ष) मनाएको छ । यही अवसरमा सोमबार उपप्रधानमन्त्री महासेठले सिनेमा पत्रकारहरुलाई संघका तर्फबाट सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।

यो वर्षको समारोहमा सिनेमा पत्रकारिता रजत सम्मान २०८१ बाट विदूर गिरीलाई ५५ हजार ५५५ रुपैयाँसहित सम्मान प्रदान गरेको हो । सिनेमा पत्रकारितामा डेढ दशक भन्दा लामो योगदान दिएका दुई जना यो समारोहमा राष्ट्रिय सिनेमा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भए । उनीहरुलाई जनही ५१ हजार रुपैयाँ सहित पत्रकार सुरज खड्का र पत्रकार अशेष अधिकारी राष्ट्रिय सिनेमा पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत भएका हुन् ।

यसपटक राष्ट्रिय सिनेमा पत्रकारिता सम्मानबाट दुई पत्रकार सम्मानित भएका छन् । पत्रकार कृष्ण भट्टराई र राज श्रेष्ठलाई सम्मानित गरिएको हो । दाङमा रहेर सक्रिय पत्रकारिता गर्दै आएका शिव पुन यो वर्षको राष्ट्रिय मोफसल सिनेमा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भए । उनलाई नगद २५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

यसैगरी सोही समारोहमा २५ हजार नगद राशी सहित यो वर्षको राष्ट्रिय सिनेमा पत्रकारिता प्रोत्साहन पुरस्कार पत्रकार मदन रिजाललाई प्रदान गरियो ।

जेठ ७ गते स्थापना भएको चलचित्र पत्रकार संघ नेपालले यो दिनलाई सिनेमा पत्रकारिता दिवसको रुपमा मनाउँदै आएको छ । संघको स्थापना भएको २५ औं वार्षिक उत्सबको अबसर पारेर सोमबार समारोहमा केही कला पत्रकारलाई रजतवर्ष सम्मान पनि गरियो ।

समारोहमा पत्रकारहरु मणिराज गौतम, जयन सुब्बा मनन्धर, रञ्जन खनाल, डिबी खड्का, शिल्पा अधिकारी, रविन्द्र खड्का, अमृत पुडासैनी र दीपक बिष्टलाई रजत बर्षको अबसरमा सम्मानित भएका हुन् ।

उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रुघुबीर महाशेठले कार्यक्रमलाई सम्बोधन गर्दै सत्य हरिश्चन्द्रबाट नेपाली सिनेमाको शुभारम्भ दार्जिलिङबाट भएको बताए । आफुले बाल्यकालमा जानकी मन्दिर आँगनमा श्यामश्वेत रंगको पहिलो नेपाली सिनेमा आमा हेरेको स्मरण गर्दै सिनेमा पत्रकारलाई शुभकामना दिँदै सिनेकर्मीलाई सहयोग गर्ने बताए ।

रजतवर्ष वार्षिक उत्सब समारोह तथा २३ औं सिनेमा पत्रकारिता दिवस नृत्य तथा गायन प्रस्तुतिका कारण हर्षोल्लासमय बनेको थियो ।

समारोहका विशेष अतिथिहरुमा नेपाली सिनेमाकी प्रथम अभिनेत्रीद्धय भुवन चन्द, बसुन्धरा भुसाल, नेपाल चलचित्र संघका बरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थ, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, फोनिजका अध्यक्ष गजुरधन राई, चलचित्र कलाकार संघ अध्यक्ष मोहन निरौला, सिनेमा तथा पत्रकारिता क्षेत्रका विभिन्न संघ संस्थाका पदाधिकारी तथा सिनेकर्मीहरु उपस्थिती रहेको थियो ।