युनेस्कोले दियो काठमाडौंलाई ‘सिनेमाको रचनात्मक सहर’को प्रमाणपत्र

युनेस्कोले दियो काठमाडौंलाई ‘सिनेमाको रचनात्मक सहर’को प्रमाणपत्र

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं – काठमाडौं महानगरपालिकालाई राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले ‘सिनेमाको रचनात्मक सहर’को सदस्य प्रमाणपत्र प्रदान गरेको छ ।

युनेस्को नेपालका प्रमुख माइकल क्रफ्टले काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच महानगर उपप्रमुख सुनिता डंगोललाई क्रिएटिभ सदस्यताको सर्टिफिकेट प्रदान गरेका हुन् । यो अवसरमा क्रिएटिभ सहरको लोगो समेत सार्वजनिक गरियो ।

यो अवसरमा महानगरले सिनेमाका संघसंस्थालाई बोलाएर क्रिएटिभ सिटीको अवधारणालाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने बारेमा छलफल चलाएको थियो । सहभागी सिनेमामेकरले कार्यपत्र प्रस्तुत गर्दै सुझाव समेत दिएका थिए ।

युनेस्को प्रमुख क्रफ्टले सर्टिफिकेट प्रदान गर्दै काठमाडौंमा सिनेमाको सम्भावना उज्वल रहेको बताए । उनले धेरै लगानीकर्ताको ध्यान ऊर्जाजस्ता क्षेत्रमा रहेपनि सिनेमाजस्ता सफ्टपावरमा पनि विकास जरुरी रहेको बताए ।

काठमाडौं महानगरपालिका उपप्रमुख डंगोलले सरोकारवालाको ज्ञान र सीपलाई महानगरले उपयोग गर्ने बताइन् । यो अवसरमा चलचित्र विकास बोर्डका सदस्य-सचिव राजेशकुमार थापासहित केही सिनेमा मेकरले कार्यपत्र प्रस्तुत गरेका थिए । थापाले सिनेमा नीतिमा क्रिएटिभ सिटीको अवधारणा समावेश गरेर सिनेमा को विकास गर्नुपर्ने उल्लेख गरेका थिए ।

अमेरिकाको न्युयोर्क र दक्षिण कोरियाको बुसान सहरको उदाहरण निर्देशक मोहन राईले पेश गरेका थिए । ती सहरलाई सिर्जनात्मक सहरको रुपमा कसरी महानगरले स्थापित गर्यो भन्ने उदाहरण दिंदै उनले यो कार्य काठमाडौंलाई पनि अनुकरणीय हुने बताए ।

निर्माता तथा अभिनेता दीपकराज गिरी र नगरपालिका संघको कार्यकारी निर्देशक कलानिधि देवकोटाले पनि यसबारे धारणा राखेका थिए । नीति संवाद नाम दिइएको समारोहमा सिनेमासम्बद्ध व्यक्ति र संस्थाले विभिन्न सुझाव दिएको महानगरले जनाएको छ ।

अहिले नेपाली सिनेमाको व्यावसायिक अवस्था धरासायी रहेको बताउँदै सिनेमाकर्मीले यसतर्फ दिएर काम गर्न महानगरलाई सुझाए । संघीय सरकारले बनाइरहेको सिनेमा नीतिमा हस्तक्षेप गरेर क्रिएटिभ सिटी मैत्री नीति तय गर्न पनि उनीहरुले आग्रह गरेका छन् । उनीहरुले मौलिक सिनेमाका लागि फन्डको स्थापना गर्न पनि आग्रह गरेका थिए ।

सिनेमा क्षेत्र ३३ प्रतिशत करले धरासायी भएको भन्दै सिनेमाकर्मीले सहुलियतको माग समेत गरेका छन् । काठमाडौंका निश्चित स्थानलाई सिनेमा र मिडियामैत्री बनाउन आग्रह गर्दै उनीहरुले त्यहाँ जाँदा सिनेमाको ‘भाइब्स’ आउनुपर्ने बताए । त्यस्ता ठाउँमा हुने सिनेमा कार्यालयलाई करमुक्त गर्नुपर्ने उनीहरुको भनाई थियो ।

राष्ट्रिय सभागृह भएको ठाउँमा सिनेमा प्रदर्शन गर्न मिल्ने ठाउँ विकास गर्नुपर्ने, स्रष्टाको निधनपछि श्रद्धाञ्जली दिन उपयुक्त थलो बनाउनुपर्ने लगायतका सुझाव पनि सिनेमाकर्मीले राखेका छन् । महानगरले यस्तो संवाद मासिक रुपमा सञ्चालन गर्ने तयारी गरेको छ ।

काठमाडौंसहित संसारका ५५ सहर क्रिएटिभ सिटिज नेटवर्कमा समावेश छन् । युनेस्कोले २०८० सालको कात्तिकमा काठमाडौं सहरलाई सिनेमाको रचनात्मक सहरको रुपमा सूचीकृत गरेको थियो ।