प्रदीपको ‘एक्लो’मा बेलायती अभिनेता जेमी बेकन अनुबन्धित

प्रदीपको ‘एक्लो’मा बेलायती अभिनेता जेमी बेकन अनुबन्धित

द सिनेमा टाइम्स
140
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बेलायती अभिनेता जेमी बेकनले अभिनेता प्रदीप खड्काको मुख्य भुमिका रहने सिनेमा ‘एक्लो’मा अभिनय गर्ने भएका छन् । सिनेमामा जेमी अनुबन्धित भएको खबर लोकप्रिय अंग्रेजी अनलाइन डेडलाइनले प्रकाशन गरेको छ ।

सिनेमामा काम गर्न लागेको समाचारको स्क्रिनसट जेमी आफैंले इन्स्टाग्राममा सेयर गरेका छन् । उनी नेटफ्ल्क्सि सिरिज ‘व्हाइट लाइन्स’ र सिनेमा ‘ब्राइटन’मा गरेको अभिनयका कारण चिनिन्छन् । जेमी स्क्रिप्ट राइटर समेत हुन् । ‘इनटू द मिरर’ र ‘द फिस इज मी’ गरी दुई सिनेमाको स्क्रिप्ट लेखेका उनले ‘द होर्डर’, बीबीसी ड्रामा ‘फादर ब्राउन’मा पनि अभिनय गरेका छन् ।

निर्देशक प्रदीप शाहीले सिनेमा ‘एक्लो’मा जेमीको अभिनय रहने जानकारी गराउन पाउँदा गर्व महसुस भएको बताएका छन् । ‘सिनेमामा उनको प्रतिभा र उपस्थिति पाउनु हामी भाग्यशाली छौं’, उनले भने । यो सिनेमाले सन् २०३० सम्म एक घातक भाइरल महामारीका कारण मानिसले पृथ्वी ग्रह छोड्न बाध्य भएको कथा भन्नेछ ।

ब्रिटिस अन्तरिक्ष यात्री बेकन त्यसको ६० वर्षपछि आफ्नो टोलीसहित हिमालय क्षेत्रमा ल्यान्डिङ गर्छन् । पहाडहरुबीचको एक गुफामा लुकेको शहर पत्ता लगाउँछन्, जहाँ तिनीहरुले रहस्यमय व्यक्ति प्रदीप सँग भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो ।

सिनेमामा प्रदीप र जेमीका अलवा बेनिशा हमाल, सुनिल थापा, विजय लामा, दीया पुन, कविता नेपाली, एवनराज उप्रेती लगायतको पनि अभिनय रहनेछ । सिनेमाका कार्यकारी निर्माता क्षितिज सुवेदी खत्री हुन् । सिनेमाका लागि यतिबेला नेपालमै पहिलोपटक अन्तरिक्ष ‘रकेट सुट’को निर्माण भइरहेको छ । आगामी भदौपछि छायांकन सुरु हुने सिनेमाको सन् २०२५ मा रिलिजको लक्ष्य राखिएका छ ।