बुद्ध जयन्तीको अवसरमा ‘फर्की फर्की’ र ‘पुजार सार्की’ रिलिज

बुद्ध जयन्तीको अवसरमा ‘फर्की फर्की’ र ‘पुजार सार्की’ रिलिज

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज बिहीबार बुद्ध जयन्तीको अवसर पारेर दुई नेपाली सिनेमा ‘फर्की फर्की’ र ‘पुजार सार्की’ प्रदर्शनमा आएका छन् । दुवै सिनेमाले देशभरका सिंगलस्क्रिनदेखि मल्टीप्लेक्ससम्म उच्च शो पाएका छन् ।

दुवै सिनेमा स्टारकास्ट र सार्वजनिक प्रचार सामाग्रीका कारण दर्शकमाझ चर्चामा छन् । बुधबार प्रिमियरमा ‘फर्की फर्की’ले पाएको उत्कृष्ट प्रतिक्रियाका कारण बिहीबार बिहानी शोबाट नै राम्रो सुरुवात गरेको छ । यता अर्को सिनेमा ‘पुजार सार्की’ले पनि बिहानी शोमा राम्रो दर्शक पाएको छ । बिहीबार परेको बुद्ध जयन्तीको विदाको फाइदा दुवै सिनेमाले उठाउने देखिन्छ ।

भोली शुक्रबारबाट भने दुवै सिनेमाको व्यापार दर्शकको वर्डअफ माउथमा भर पर्नेछ । दर्शकबाट राम्रो प्रतिक्रिया पाएको खण्डमा दुवै सिनेमाले व्यापारको रफ्तार कायम गर्ने देखिन्छ । यी दुई सिनेमालाई चार स्टारको परिक्षाको रुपमा लिइएको छ । अनमोलको लागि ‘फर्की फर्की’ र आर्यन, प्रदीप र पलको लागि ‘पुजार सार्की’ चल्नै पर्ने देखिन्छ ।

सुयोग गुरुङले लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा अनमोल र जसिताका अलवा कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता सलोन बस्नेत बिशेष भुमिकामा देखिएका छन् ।

रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका निर्माता ओम प्रकाश अग्रवाल र रोहित अधिकारी हुन् । यो सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, रोमन बज्रचार्य र नरेन लिम्बूको संगीत तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन र शंकर पाण्डेले प्रोडक्सन म्यानेजरको रुपमा काम गरेका छन् ।

किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण भएको सिनेमा दिनेश राउतले निर्देशन गरेका हुन् । सिनेमाको कथा तथा पटकथा विकास सुवेदीले लेखेका छन् । सिनेमामा अञ्जना बराइली, परिक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमालाई संगीतकार सुवास भुषालले निर्माण गरेका हुन् । सिनेमाका गीतमा संगीत समेत उनी आफैले भरेका छन् । राजेश श्रेष्ठको डिओपी रहेको सिनेमामा भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ र हिमाल केसीले द्वन्द्व निर्देशन रहेको छ ।