‘फर्की फर्की’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया, अनमोल र जसिताको तारिफ

‘फर्की फर्की’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया, अनमोल र जसिताको तारिफ

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बुधबार साँझ बिग मुभिजमा आज बिहीबार बुद्ध जयन्तीको अवसर पारेर प्रदर्शनमा आएको सिनेमा फर्की फर्कीको भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियरमा सिनेमा हेर्न सिनेमाकर्मीदेखि पत्रकारसम्म उपस्थित थिए ।

प्रिमियमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि सिनेमा हेका थिए । सिनेमा हेरेपछि उनले ‘फर्की फर्की’को खुलेरै तारिफ गरेका छन् । बालेनले सामाजिक संजाल फेसबुकमा खुलेरै तारिफ गरेका हुन् ।

सिनेमा हेरेपछि बालेनले लेखेका छन्-‘एउटा नयाँ स्वादको सिनेमा । साँच्चिकै सुन्दर सिनेमा ।’ सिनेमा ‘फर्की फर्की’ हेर्न पुगेका अधिकांशले खुलेरै तारिफ गरेका थिए । सिनेमाको कथावस्तु, प्रस्तुति र निर्देशक सुयोग गुरुङको कामको तारिफ गरेका हुन् । सिनेमा हेर्नेले अनमोल केसीको कामको समेत खुलेरै तारिफ गरेका थिए ।

अनमोलले आफ्नो करिअरमै अहिलेसम्मको उत्कृष्ट काम गरेको प्रतिक्रिया अधिकांश सिनेमाकर्मीको थियो । सिनेमा हेरेका ५ सय भन्दा बढी पाहुनाहरूले मेकिङ, कथा, कलाकारको कामको तारिफ गरेका थिए । लामो समयपछि नेपाली सिनेमाले एउटा फ्रेस कथा, उच्च क्यानभास र उत्कृष्ट अभिनयको समिश्रणमा सिनेमा पाएको उनीहरुको भनाई थियो ।

अनमोल केसीले यो सिनेमालाई आफ्नो करिअरको नयाँ आयम भन्ने गरेका छन् । अनमोलको काममा मिहिनेत झल्किएको छ । अनमोललाई अभिनय नै आउँदैन, संवादमा दम छैन भन्नेहरूलाई यसपटक उनले राम्रैसँग कामले जवाफ दिएका छन् । नेपाली सिनेमाले नयाँ निर्देशकको रुपमा सुयोग गुरुङलाई पाएको प्रतिक्रिया समेत सिनेमाकर्मीले दिएका थिए । दोस्रो सिनेमामै सुयोगले आफूलाई अब्बल रुपमा प्रस्तुत गरेका छन् ।

अभिनेत्री जसिता गुरुङ, डेव्यु कलाकारद्वय रवि काफ्ले र समृद्धी अर्यालको कामको समेत सबैले तारिफ गरेका थिए । प्रिमियरपछि अभिनेता हरिवंश आचार्यले नेपालमा कोरियन प्याटर्नको सिनेमा निर्माण भएको महसुस गरेको बताए । सिनेमा प्राविधिक रूपमा राम्रो बनेको उनको भनाई छ ।

अभिनेता तथा निर्माता हरिहर अधिकारी, निर्मात्री तथा अभिनेत्री निता ढुंगाना, अभिनेता वीरेन श्रेष्ठ, अभिनेत्री सुरक्षा पन्तले सिनेमाको तारिफ गरेका थिए । निर्देशक वसन्त निरौला, निर्माता सुनीलकुमार थापा, निर्देशक झरना थापा, अभिनेता सलोन बस्नेत, सलिनमान बनियाँले सिनेमा राम्रो बनेको बताए ।

विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक दीपाश्री निरौला, निर्माता तथा अभिनेता दीपकराज गिरी लगायतले प्रिमियरमा सिनेमा हेरेका थिए । रोहित अधिकारीको निर्माण रहेको सिनेमा आजबाट प्रदर्शनमा आएको छ ।

सुयोग गुरुङले लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा अनमोल र जसिताका अलवा कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता सलोन बस्नेत बिशेष भुमिकामा देखिएका छन् ।

रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका निर्माता ओम प्रकाश अग्रवाल र रोहित अधिकारी हुन् । यो सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, रोमन बज्रचार्य र नरेन लिम्बूको संगीत तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन र शंकर पाण्डेले प्रोडक्सन म्यानेजरको रुपमा काम गरेका छन् ।