‘गाउँ आएको बाटो’को अर्थपूर्ण र मर्मस्पर्शी ट्रेलर सार्वजनिक

‘गाउँ आएको बाटो’को अर्थपूर्ण र मर्मस्पर्शी ट्रेलर सार्वजनिक

गाउँमा बजारका रेडिमेड वस्तुको प्रयोग बढेपछि बाँसबाट बनेका सामाग्री बिक्री हुन छाड्छन् । त्यसपछि दयाहाङको पात्रले गर्ने संघर्षलाई ट्रेलरमा देखाइएको छ ।

द सिनेमा टाइम्स
385
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नवीन सुब्बा निर्देशित सिनेमा ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको अर्थपूर्ण र मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको हो । सिनेमाको सार्वजनिक ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे स्पष्ट पारेको छ ।

सिनेमाको सार्वजनिक ट्रेलर बाबुछोराको स्नेही सम्बन्धबाट सुरु हुन्छ । भोजपुरको राई परिवारको खुसी त्यतिबेला संकटमा पर्छ, जतिबेला गाउँमा मोटर आइपुग्छ । गाउँमा सडक र गाडी पुगेपछि आएको परिवर्तन र त्यसले पारेको असरको कथा सिनेमाले भन्ने ट्रेलरले बुझाउँछ ।

अभिनेता दयाहाङ राईको पात्र बाँसको चोयाबाट डोकोडालो, नाङ्लो बनाएर जीविकोपार्जन गर्छ । श्रीमती र एक छोरासँग उसको जीवन जेनतेन चलेको छ । जब गाउँमा सडक र गाडी आउँछ तब उसको पेशा संकटमा पर्छ । गाउँमा बजारका रेडिमेड वस्तुको प्रयोग बढेपछि बाँसबाट बनेका सामाग्री बिक्री हुन छाड्छन् । त्यसपछि दयाहाङको पात्रले गर्ने संघर्षलाई ट्रेलरमा देखाइएको छ ।

योसँगै छोरा बिन्द्रे (प्रसन राई) र उसको बाबु माइला (दयाहाङ) वरपर कथा घुम्छ । सडकसँगै आउने स्मार्टफोन, सनग्लास, टेलिभिजन, हिपहप संगीतले गाउँको मानवीय सम्बन्ध र सोचाइमा ल्याउने परिवर्तनको कथा सिनेमामा छ । दयाहाङको छोराको भूमिकामा देखिएका प्रसनको अभिनय अब्बल महसुस हुन्छ । पशुपति राई दयाहाङकी पत्नीको भुमिकामा छिन् ।

अभिनेता दयाहाङ राईले विभिन्न सिनेमा महोत्सवबाट प्राप्त प्रतिक्रियाले आफूहरुलाई उत्साहित बनाएको बताए । राई समुदायको कथावस्तुमा बनेको यो पहिलो सिनेमालाई दयाहाङले करिअरकै उत्कृष्ट मध्येको सिनेमाको रुपमा लिएका छन् । जेठ २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमाले २० वटाभन्दा बढी प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरुमा सहभागिता जनाइसकेको छ ।

‘नुमाफुङ’ बनाएर फरक धारका सिनेमाका लागि प्रशंसा बटुलेका सुब्बाको यो तेस्रो सिनेमा हो । उनले बनाएको दोस्रो सिनेमा ‘गुडबाई काठमाडौं’ भने सार्वजनिक प्रदर्शनमा आएको छैन ।

टोरोन्टो र बुसान फिल्म फेस्टिभलमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका छन् । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको सिनेमाका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् ।

यो सिनेमाको अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद गरेको छ । सिनेमाको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् ।