‘आचार्य’को ट्रेलर सार्वजनिक

‘आचार्य’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गायक भक्तराज आचार्यको जीवन संघर्ष र उपलब्धीमा बनेको सिनेमा ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ । शनिबार ओएसआर युट्युब च्यानलमार्फत ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा भक्तराजको बाल्यकालीन अवस्था र गायनप्रतिको मोह छ । गायनमा रहेको रुचिलाई साकार पार्न उनले गरेको संघर्ष, प्राप्त उपलब्धि तथा गाउन नसक्ने अवस्थामा आउँदासम्मको गतिविधि ट्रेलरमा समेटिएको छ ।

भक्तराज घाइते भएको दृश्य पनि ट्रेलरमा समावेश छ । ट्रेलरमा सिनेमाका मुख्य पात्र सत्याराज आचार्यले अधिकांश समय अकुपाई गरेका छन् ।

१३ वर्षपछि पुनः प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलर सार्वजनिक गर्दै निर्माण पक्षले पब्लिसिटी सुरु गरेको हो ।

गायक तथा संगीतकार भक्तराज आचार्यको जीवन संघर्षमा आधारित बायोपिक मुभी ‘भक्तराज’ असार ७ गतेबाट प्रदर्शनमा आउँदै छ ।

१३ वर्ष अगाडि रिलिज भएको चलचित्र नयाँ पुस्तालाई पुनः देखाउने उद्देश्यले प्रदर्शन गर्न लागिएको हो । प्रशान्त रसाइलीले निर्देशन गरेको सिनेमा भक्तराजका छोरा सत्यराज आचार्य मुख्य भूमिकामा छन् ।

सत्यराजसँगै सुनील पोखरेल, दयाहाङ राई, अरुणा कार्की, विपीन कार्कीलगायत कलाकार मुख्य भूमिकामा छन् । यो सिनेमाले १३ वर्ष अगाडि राम्रो समीक्षा पाएको थियो ।

सिनेमामा गायक आचार्यको भूमिकामा उनकै जेठा छोरा सत्यराज आचार्यले निवार्ह गरेका छन् । उनी सिनेमाका निर्माता पनि हुन् । पहिलो पटक सिनेमा रिलिज हुँदा धेरैले हेर्न नपाएकाले पुनः रिलिज गर्न लागिएको उनले बताएका छन् । यो बुबाप्रति ट्रिब्युट पनि रहेको उनको भनाइ छ । असार ५ गते राजधानीमा सिनेमाको प्रिमियर शोको आयोजना गरिनेछ ।

२०४६ सालमा सांघातिक आक्रमणपछि उनको जिब्रोमा सेतो दाग देखिएको थियो । डाक्टरले क्यान्सर भएको घोषणा गरेपछि जिब्रो काटिएको थियो । यसपछि उनको सुर र स्वर गुम्न पुग्यो । त्यो घटनालाई पनि यो सिनेमाले देखाउँछ ।

सिनेमाको निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमाको ट्रिमिङ्ग तथा पुन सम्पादनको काम टुल्की निर्देशक देवजंग थापाले गरेका हुन् । सिनेमामा भजन शिरोमणी तथा बरिष्ठ गायक भक्तराज आचार्यको निधन पश्चातका फुटेजहरु पनि समावेश गरिएका छन् । यसपटक आफूहरुले दर्शकलाई पूर्णरुपमा बायोपिक सिनेमा देखाउन खोजेको अभिनेता सत्यराज आचार्यले बताएका छन् । सिनेमाका निर्माता रोशन राई हुन् ।