लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’को दोस्रो पोस्टर सार्वजनिक

लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’को दोस्रो पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रंग पत्रकार लक्ष्मण सुवेदीको निर्देशनमा निर्माण भएको सिनेमा ‘सतीदेवी’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । अभिनेत्री मलिका महत सार्वजनिक पोस्टरमा बच्चालाई स्तनपान गराइरहेको अवस्थामा चित्रित छन् । उनी गम्भीर भावमा देखिएकी छन् ।

मलिकाको छेवैमा दुई बाल कलाकार हर्षिका वली र मन्जिला बानियाँ रोइरहेको अवस्थामा प्रस्तुत छन् । पात्रहरुको मनोदशा दर्शाउने यो पोस्टर अर्थपूर्ण छ । यो पोस्टरले मलिका आमाको भूमिकामा रहेको संकेत गर्छ । लभर गर्लको भूमिकामा देखिँदै आइरहेकी उनले यसपटक आफूलाई चरित्र अभिनयमा ढलेकी छन् ।

सिनेमाको यसअघि सार्वजनिक पोस्टरमा उनी कालोमोसो र जुत्ताको माला लगाएर लखेटिरहेको अवस्थामा प्रस्तुत थिइन् । ‘छोरी पुजौँ, छोरी बुझौँ, यिनै संसार सारा’ ट्यागलाइन दिइएको यो सिनेमा आगामी साउन ४ गतेबाट प्रदर्शन हुँदैछ ।

सिनेममा मलिकाका अलवा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनिषा सापकोटा, सन्देश लिम्बू, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठ, जयन्त रेग्मी आदिको पनि अभिनय रहेको छ । सिनेमाको निर्मातामा श्रीदेवी, दिलासा र सारा सुवेदी छन् । दिलासा र साराको संयुक्त प्रस्तुति रहेको सिनेमाले बाबु र छोरीहरुबीचको सम्बन्धको कथा भनेको छ ।

दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको ‘सतीदेवी’मा निर्देशक सुवेदी स्वयंको स्क्रिप्ट लेखन तथा निर्माण छ भने बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । सिनेमाको वितरण काठमाडौं उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र मोफसलमा एफडी कम्पनीले गर्नेछ ।