अनमोल ‘फर्की फर्की’को प्रिमियरमा सहभागी हुन जापान जाने

अनमोल ‘फर्की फर्की’को प्रिमियरमा सहभागी हुन जापान जाने

द सिनेमा टाइम्स
756
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनमोल केसी आफ्नो सिनेमा ‘फर्की फर्की’को प्रिमियर शोमा सहभागी हुन जापान जाने भएका छन् । अनमोल जापानको टोक्यो शहरमा हुन लागेको सिनेमाको रेडकार्पेट प्रिमियरमा सहभागी हुन जेठ २६ गते जापान प्रस्थान गर्दै छन् । सिनेमाको जुन ९ अर्थात् जेठ २७ गते प्रिमियर शोको आयोजना हुँदैछ ।

यो पटक अनमोलको जापान भ्रमण रिफ्रेसमेन्टका लागि समेत हुनेछ । सिनेमा रिलिज पुर्व र रिलिजपछिको दौडधुपको थकाई मेटाउन अनमोलले जापानमा केहि समय बिताउने छन् । अनमोल टोक्योमा हुने मुख्य शोमा सहभागी हुने छन् भने नागोया, फुकोवाका लगाएतका शहरमा हुने शोहरुमा समेत सहभागिता जनाउने सम्भावना रहेको छ ।

अनमोल ‘फर्की फर्की’को रेडकार्पेट ६ वर्ष पछि जापान लान लागेका हुन् । सिनेमालाई जापान रिलिज गर्न लागेका सुवास भन्छन् – ‘अनमोलको जस्तो स्टार भ्यालु अनि क्रेज अरुको देखिन । सिनेमा ‘कृ’को प्रदर्शन गर्दा सामान्य तयारीका बीच पनि करिब एक हजार दर्शक उपस्थित भएका थिए । यो पटक पन्ध्र सय बढी दर्शक सिनेमा ‘फर्की फर्की’ हेर्न आउने सुवासले अनुमान गरेका छन् ।’

त्यसो त सुबासले सिनेमा कबड्डी ४ प्रदर्शन गराउँदा सत्र सय दर्शकले सिनेमा हेरेका थिए । जापानको इतिहासमै एक शोमा एकैसाथ सत्र सय दर्शकले सिनेमा हेरेको पहिलो पटक भएको सुबास बताउँछन् । पछिल्लो समय राम्रो सिनेमा प्रदर्शन हुँदा जापानमा रहेका दर्शकहरुले समेत साथ दिँदै आएका छन् ।

सिनेमा ‘फर्की फर्की’लाई नेपालका दर्शकहरुबाट राम्रो साथ मिल्नुका साथै राम्रो प्रतिक्रिया समेत पाइरहेको छ । जसकारण जापानमा सिनेमाको प्रतिक्षा भइरहेको सुवासले जानकारी गराएका छन् । सिनेमा जापानको टोक्यो सहरस्थित नाकानो जिरो हलमा प्रदर्शन हुनेछ । सिनेमा हेर्नका लागि बिद्यार्थीहरुलाई २५०० अरु दर्शकका लागि ३००० टिकट राखिएको छ । टिकटखै डटकम अनलाइन मार्फत पनि टिकट खरिद गर्न सकिने बताइएको छ ।