‘छक्का पञ्जा-५’को पोस्टर सार्वजनिक, दीपकको अपोजिटमा वर्षा, निर्देशक दीपाश्री

‘छक्का पञ्जा-५’को पोस्टर सार्वजनिक, दीपकको अपोजिटमा वर्षा, निर्देशक दीपाश्री

द सिनेमा टाइम्स
476
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दीपक-दीपा समुहको सफल सिनेमा ‘छक्का पञ्जा’को पाँचौं श्रृंखला निर्माण घोषणा गरिएको छ । बिहीबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी दशैंको फूलपाती अर्थात् असोज २४ गतेलाई सिनेमाको प्रदर्शन मिति समेत घोषणा गरिएको छ ।

बिहीबारबाट छायांकन सुरु हुन लागेको सिनेमालाई दीपाश्री निरौलाले निर्देशन गर्ने भएकी छन् । ‘छक्का पञ्जा ४’ लाई भने हेमराज विसीले निर्देशन गरेका थिए । सिनेमाको छायांकन सेड्युल ४५ दिनको राखिएको छ । सिनेमाले यसपटक सामाजिक विषय उठाउन लागेको जनाइएको छ ।

यसपटक ‘छक्का पञ्जा’ फ्रेन्चाइजमा अभिनेत्री वर्षा सिवाकोटीको प्रवेश भएको छ । सार्वजनिक पोस्टरमा उनी सिंहासनमा बसेकी छन् । उनको पहिरनले नवविवाहित दुलहीको संकेत गर्छ । उनको छेवैमा दीपकराज गिरी कोर्ट-पाइन्टमा सजिएर देखिएका छन् । केदार घिमिरे (माग्ने बुढा) सेवकको भूमिकामा पोस्टरमा देख्न सकिन्छ । उनी वर्षालाई राजकीय शैलीको छाता ओढाइहेको अवस्थामा चित्रित छन् ।

आमा सरस्वती मुभिज र आईएमआईको प्रस्तुतिमा निर्माण हुन लागेको सिनेमाको बिहीबार बिहान भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा मुहूर्त गरिएको छ । अब छायांकनका लागि सिनेमाको टिम काभ्रेको पाँचखाल प्रस्थान गर्नेछ । काभ्रेपछि पोखरामा छायांकन हुनेछ ।