चित्लाङबाट ‘ज्वाइँ साब’को छायांकन सुरु

चित्लाङबाट ‘ज्वाइँ साब’को छायांकन सुरु

द सिनेमा टाइम्स
175
Shares

द सिनेमा टाइम्स, काठमाडौं – वसन्त निरौलाको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘ज्वाइँ साब’को छायांकन सुरु गरिएको छ । शुक्रबार बिहान मकवानपुर जिल्लाको पर्यटकीय गन्तव्य चित्लाङस्थित स्वच्छन्द भैरव मन्दिरमा स्क्रिप्ट, क्यामेरा र क्ल्याप पूजा गर्दै सिनेमाको छायांकन थालिएको हो ।

सिनेमाको चित्लाङ सेड्युल २० दिनको राखिएको छ । त्यसपछि बाँकी छायांकनका लागि निर्माण टिम सौराहा र इलाम जाने तयारीमा छ । सिनेमामा हास्य अभिनेता जीतु नेपाल र अभिनेत्री नीति शाहको जोडी बाँधिएको छ । अभिनयको हिसाबले नीतिको यो दोस्रो सिनेमा हो ।

सिनेमालाई समसामयिक कथामा निर्माण गर्न लागिएको निर्देशक निरौलाले बताए । सिनेमालाई यही वर्षको तिहारमा रिलिज गरिनेछ । सिनेमामा रमेश वुढाथोकी, प्रकाश घिमिरे, वुद्दि तामाङ, हिमेश पन्त, निमा पाण्डे लगायतको पनि अभिनय रहनेछ । सिनेमामा जीतु ज्वाइँको भूमिकामा देखिनेछन् ।

राज कुमार पण्डित प्रस्तुतकर्ता रहेको ‘ज्वाइँ साब’मा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङ निर्मातामा छन् । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद लेखन छ । अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको सिनेमाको छायांकार श्याम तामाङ हुन् ।