सिने सर्कल अवार्डमा निश्चल बस्नेत उत्कृष्ट निर्देशक र स्वस्तिामा उत्कृष्ट अभिनेत्री

सिने सर्कल अवार्डमा निश्चल बस्नेत उत्कृष्ट निर्देशक र स्वस्तिामा उत्कृष्ट अभिनेत्री

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं – काठमाडौंमा शुक्रबार ‘एलजी ७ औं सिने सर्कल अवार्ड – २०८०’ सम्पन्न भएको छ । आर्मी अफिसर्स क्लबमा सम्पन्न अवार्ड समारोहमा विभिन्न २५ विधामा अवार्ड प्रदान गरियो । अवार्ड समारोहको सञ्चालन सिनेमा सर्कल नेपालका अध्यक्ष निर्देशक डिसीले गरेका थिए । सिनेमा सर्कल नेपालका संरक्षक तथा चौधरी समूहका प्रवन्ध निर्देशक वरुण चौधरीले स्वागत मन्तव्य राखेका थिए ।

नेपाली सिनेमा क्षेत्रमा क्यामेराको पछाडी रहेर निरन्तर योगदान दिएको भन्दै दुई अग्रज प्राविधिकलाई दीर्घ साधना सम्मानबाट सम्मानित गरियो । जनही ५१ हजार रुपैयाँ सहित सम्पादक नरेन्द्र खडका र मेकअप आर्टिष्ट अशोक रोकालाई दीर्घ साधना सम्मानबाट सम्मानित गरियो ।

अग्रज अभिनेत्रीहरु भुवन चन्द, बसुन्धरा भुसाल, चैत्य देवी, अग्रज संगीतकार शम्भुजीत बासकोटा, अग्रज अभिनेता शिब श्रेष्ठ, अर्जुन जंग शाही, सन्तोष पन्त, सरोज खनाल, सिनेमा सम्बन्धि करिब एक दर्जन संघ संस्थाका अध्यक्षहरु लगायतले यो सम्मान प्रदान गरेका थिए ।

यो अवार्ड समारोहमा निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ले सर्वाधिक अवार्ड जित्यो । यो सिनेमाले उत्कृष्ट सिनेमाको अवार्ड सहित पाँच अवार्ड पायो । जसमा निर्देशकको अवार्ड निश्चल बस्नेतले, अभिनेत्रीको अवार्ड स्वस्तिमा खड्काले, छायांकारको अवार्ड सुसन प्रजापतिले र सम्पादकको अवार्ड निमेश श्रेष्ठले प्राप्त गरेका थिए ।

‘अगस्त्य’बाट सौगात मल्लले उत्कृष्ट अभिनेता, उत्कृष्ट खल पात्र प्रमोद अग्रहरी र द्धन्द्ध निर्देशकको अवार्ड श्री श्रेष्ठले उचाले । यता ‘जारी’बाट उपेन्द्र सुब्बाले उत्कृष्ट डेव्यु निर्देशक र स्कृनप्ले राईटरको अवार्ड हाँसिल गरे । ‘जारी’ले नै वर्षको बक्स अफिसमा वर्षको सर्वाधिक व्यापार गर्ने सिनेमाको अवार्ड पाउनुका साथै दयाहाङ र मिरुनाले उत्कृष्ट अनस्क्रिन जोडीको अवार्ड उचाले ।

‘बगान’बाट सुवास भुसालले संगीत तर्फ उत्कृष्ट संगीतकारको अवार्ड पाउँदै गर्दा पाश्र्व गायिकाको अवार्ड बगानबाटै गायिका अन्जु पन्तले र पाश्र्व गायकको अवार्ड सिनेमा ‘प्ररदेशी २’बाट निशान भट्टराईले प्राप्त गरेका थिए ।

उत्कृष्ट कोरियोग्राफरको अवार्ड ‘नांङ्गो गाउँ’बाट रामजी लामिछाने, उत्कृष्ट भीएफएक्स ‘उपहार’बाट अनुपम गौतम शर्मा, उत्कृष्ट पोस्टर डिजाइनर ‘बुलाकी’बाट राकेश दाहाल, उत्कृष्ट ट्रेलरको अवार्ड ‘काँडेतार’बाट बन्दे प्रसाद र उत्कृष्ट स्टन्टको अवार्ड पनि ‘काँडेतार’बाटै लक्ष्मण सेन्चुरीले उचालेका थिए ।

क्रिटिक्स अवार्ड अभिनेता तर्फ ‘बुलाकी’बाट नरेन खड्काले र अभिनेत्री तर्फ ‘बुलाकी’बाटै अभिनेत्री सुरक्षा पन्तले र निर्देशक तर्फको अवार्ड अन्तिम संस्कारबाट प्रदीप शाहीले पाएका थिए ।

नेपाली सिनेमाको ट्रेण्ड सेटर्स अवार्ड निर्देशक रामबाबु गुरुङ र अर्का निर्देशक प्रदीप भट्टराईलाई प्रदान गरियो । रामबाबुलाई ‘कबड्डी’र प्रदीपलाई ‘जात्रा’जस्ता सफल सिनेमा नर्माणका लागि यो अवार्ड प्रदान गरिएको आयोजक संस्था सिने सर्कल नेपालका अध्यक्ष दिनेश डिसीले बताए ।

अवार्ड समारोहमा गायक यम बराल, गायिका देविका बन्दना, नेपाल आर्मीका कलाकार र पुजार सार्कीका कलाकारले प्रस्तुती दिएका थिए । यी प्रस्तुतिले सिने सर्कल अवार्ड समारोह संगीतमय बनेको थियो । यो अवार्डको निर्णायकमा निर्देशक तथा कलाकार मोहन निरौला, संगीतकार सुरेश अधिकारी, द्धन्द्ध निर्देशक एनवी महर्जन, सञ्चारकर्मी कृष्ण भट्टराई रहेका थिए ।