‘गाउँ आएको बाटो’को पहिलो गीत ‘राई माईला’ रिलिज

‘गाउँ आएको बाटो’को पहिलो गीत ‘राई माईला’ रिलिज

द सिनेमा टाइम्स
238
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक नवीन सुब्बाको कमव्याक सिनेमा ‘गाउँ आएको बाटो’को पहिलो गीत रिलिज गरिएको छ । ‘राई माईला’ बोलको गीतमा श्रवण मुकारुङको शब्द रचना, काली प्रसाद बास्कोटाको संगीत तथा सुनिता थेगिमको स्वर सुन्न सकिन्छ ।

सिनेमाको सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रसन राईलाई फिचर्ड गरिएको छ । यो गीतको भिडियोलाई निर्देशक सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको छ । गीतमा समावेश दृश्यले सिनेमाको कथासार बुझाउन सहयोग गर्ने निर्माण टिमको विश्वास छ ।

बाबुछोराको स्नेही सम्बन्ध र खुसी त्यतिबेला संकटमा पर्छ, जतिबेला गाउँमा मोटर आइपुग्छ । योसँगै छोरा बिन्द्रे (प्रसन राई) र उसको बाबु माइला (दयाहाङ) वरपर सिनेमाको कथा घुम्छ । सडकसँगै गाउँ आउने स्मार्टफोन, सनग्लास, टेलिभिजन, हिपहप संगीतले गाउँको मानवीय सम्बन्ध र सोचाइमा ल्याउने परिवर्तन तथा सडक र गाडी पुगेपछि परेको असरको कथा सिनेमाले भनेको छ ।

जेठ २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमाले २० वटाभन्दा बढी प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरुमा सहभागिता जनाइसकेको छ । ‘नुमाफुङ’ बनाएर फरक धारका सिनेमाका लागि प्रशंसा बटुलेका सुब्बाको यो तेस्रो सिनेमा हो । उनले बनाएको दोस्रो सिनेमा ‘गुडबाई काठमाडौं’ भने सार्वजनिक प्रदर्शनमा आएको छैन ।

मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको सिनेमाका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् । टोरोन्टो र बुसान सिनेमा महोत्सवमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका हुन् ।

यो सिनेमाको अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद गरेको छ । सिनेमाको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् ।