‘बेहुली फ्रम मेघौली’को फर्स्टलुक पोस्टर सार्वजनिक

‘बेहुली फ्रम मेघौली’को फर्स्टलुक पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
175
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्का पहिलो पटक निर्मात्री बनेको सिनेमा ‘बेहुली फ्रम मेघौली’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक एक पोस्टरमा सिनेमाकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का मात्रै फिचर्ड छिन् ।

विजयादशमी अर्थात् दशैंमा प्रदर्शन आउन लागेका सिनेमाको पोस्टरमा स्वस्तिमा बेहुलीले लगाउने रातो रंगको साडी र चोलीमा देखिएकी उनी उभिएर ट्याक्टर हाँकिरहेको अवस्थामा चित्रित छिन् । उनले कसैलाई पछ्याइरहेको संकेत सार्वजनिक पोस्टरले गर्छ ।

साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशनमा निर्माण भएको सिनेमामा स्वस्तिमाको जोडी उनकै श्रीमान् तथा अभिनेता निश्चल बस्नेतसँग बाँधिएको छ । आमिर गौतम, विजय बराल, सिम्रन खड्का लगायतको पनि अभिनय रहेको सिनेमाले एक बेहुलीको कथा भन्नेछ । चितवनको मेघौलीमा छायांकन गरिएको यो सिनेमालाई दशैंमा रिलिज घोषणा गरिए पनि मिति फाइनल गरिएको छैन ।

स्वस्तिमा खड्का र निश्चल बस्नेतको निर्माण रहेको सिनेमाको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् । आकाशले यसअघि निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’को स्क्रिप्ट लेखेका थिए । सिनेमामा निर्देशकद्वय आकाश र साजनको लेखन रहेको छ । उनीहरुले यही सिनेमाबाट निर्देशनमा डेब्यु गरेका हुन् ।