‘गाउँ आएको बाटो’को प्रिमियरमा सहभागी हुन नेपाल आइपुगिन् संगीतकार हाइडी ली

‘गाउँ आएको बाटो’को प्रिमियरमा सहभागी हुन नेपाल आइपुगिन् संगीतकार हाइडी ली

द सिनेमा टाइम्स
1.4k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘गाउँ आएको बाटो’को नेपाल प्रिमियरमा सहभागी हुन संगीतकार हाइडी ली नेपाल आइपुगेकी छिन् । नवीन सुब्बा निर्देशित यो सिनेमामा हाइडीले पार्श्व ध्वनीमा काम गरेकी छन् ।

सिनेमाको एउटा पार्श्व संगीतमा पनि हाइडी नै सिर्जना गरेकी हुन् । यसअघि उनी सिनेमाको गीतमा संगीत भर्न नेपाल आएकी थिइन् । सिनेमा गर्नुअघि उनी अनुसन्धानकै लागि पनि एक पटक नेपाल आएकी थिइन् । यो उनको तेस्रो नेपाल भ्रमण हो । हाइडीले राई सँस्कृतिको लय, धुनमाथि अध्ययन गर्दै परम्परागत र पश्चिमा संगीत मिसाउँदै सिनेमाको गीत तयार पारेकी छन् ।

सिनेमा छायांकन भएको स्थानबाटै पनि हाइडीले राई संगीतलाई बटुलेकी छन् । सिनेमाको कथा र भाव नियाल्दै आफूले फिल्ममा पार्श्व ध्वनी निर्माण गरेको पनि हाइडीको भनाई छ । उनी आफूले संगीत गरेको नेपाली सिनेमाको प्रतिक्रिया लिन उत्साहित छिन् ।

‘यो सिनेमा धेरै अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा देखायौं । यो सिनेमा जुन देशको यही देशमा अहिले प्रदर्शनको तयारीमा छ । म, यहाँका स्थानीय दर्शकसँग बसेर सिनेमा हेर्न निकै उत्साहित छु, ‘हाइडीले भनिन्, ‘म नेपाली होइन । तर, पनि मैले नेपालको यस्तो सिनेमामा संगीतदेखि पार्श्व ध्वनीमा काम गरें । मैले गरेका ती कामको प्रतिक्रिया बटुल्न पनि म उत्साहित छु ।’

नवीन सुब्बा निर्देशित सिनेमामा दयाहाङ राई, पशुपति राई, प्रसान राई (बाल कलाकार), खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा आदिको पनि अभिनय छ ।

जेठ २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमाले २० वटाभन्दा बढी प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरुमा सहभागिता जनाइसकेको छ । ‘नुमाफुङ’ बनाएर फरक धारका सिनेमाका लागि प्रशंसा बटुलेका सुब्बाको यो तेस्रो सिनेमा हो । उनले बनाएको दोस्रो सिनेमा ‘गुडबाई काठमाडौं’ भने सार्वजनिक प्रदर्शनमा आएको छैन ।

मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको सिनेमाका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् । टोरोन्टो र बुसान सिनेमा महोत्सवमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका हुन् ।

यो सिनेमाको अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद गरेको छ । सिनेमाको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् ।