‘होस्टेल ३’को मुख्ख भूमिकामा रिहान, पदम र सिम्रन अनुबन्धित

‘होस्टेल ३’को मुख्ख भूमिकामा रिहान, पदम र सिम्रन अनुबन्धित

द सिनेमा टाइम्स
350
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भुटानी मुलका गायक तथा रियालिटी शो ‘भ्वाइस अफ नेपाल ४’को सेमिफाइनलिस्ट रिहान गिरी सिनेमाको हिरो बन्ने भएका छन् । उनले सिनेमा ‘होस्टेल’को तेस्रो श्रृंखलाबाट अभिनयमा डेव्यु गर्ने भएका हुन् ।

यसअघि निर्देशक दीवाकर भट्टराईको सिनेमा ‘मायावी’बाट उनले डेब्यु गर्ने निश्चित भएको थियो । तर, भिसाको समस्याले गर्दा उनले यो सिनेमाबाट उनी बाहिरिएका थिए । रिहानलाई सिनेमाको मुख्ख पात्रमध्ये एक सशक्त भूमिकामा अनुबन्ध गरिएको निर्देशक सशान कँडेलले बताए ।

सिनेमाको स्क्रिप्टले नै उनलाई मागेको निर्देशक कँडेलको दाबी छ । ‘हामीले लामो समयदेखि ‘मानव’ नामक पात्रको खोजीमा थियौँ । त्यसमा एकदमै फ्रेस महसुस हुने कलाकारको आवश्यकता थियो । रिहान सिनेमाको पात्रमा फिट हुने देखेपछि अनुबन्धित गरेका हौं,’ उनले भने ।

‘होस्टेल ३’मा रिहानका अलवा पदम तामाङ र सिम्रन पन्त पनि अनुबन्धित भएका छन् । सिम्रनले ‘प्रेमगञ्ज’, ‘चित्रा’, ‘अगस्त्य’सहित उनले आधा दर्जन बढी सिनेमामा काम गरिसकेकी छन् । पदम भने सिक्किमका चर्चित कमेडी कलाकार हुन्, जो नेपालमा पनि लोकप्रिय छन् । सिनेमामा मंगोलियन पात्रको जरुरत परेपछि पदमलाई लिइएको निर्देशक कँडेलको जानकारी दिए ।

सिनेमामा यसअघि कुल ब्वायको रुपमा परिचित पारस बम ठकुरी अनुबन्धित भइसकेका छन् । सिनेमाले होस्टेलमा बसेर अध्ययन गर्ने युवापुस्ताको कथा भन्नेछ । माधव शर्माको लेखन रहेको सिनेमाको कथा निर्देशक कँडेल स्वयंको हो । सिनेमाका निर्मातामा शिशिर ज्ञवाली छन् भने कार्यकारी निर्माता शंकर कोइराला हुन् । सह-निर्मातामा भने सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा छन् ।