‘लण्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’को अग्रीम टिकट बुकिङ खुल्ला

‘लण्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’को अग्रीम टिकट बुकिङ खुल्ला

द सिनेमा टाइम्स
161
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेका दुई सिनेमा ‘लण्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’को अग्रीम टिकट बुकिङ खुल्ला भएको छ । यी दुवै सिनेमाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म राम्रो शो पाएका हुन् ।

फरक कथामा निर्माण भएका यी दुवै सिनेमाका लक्षित दर्शक वर्ग पनि फरक छन् । शोज संख्याको आधारमा ‘गाउँ आएको बाटो’ केही बढि शो पाएको छ । यो सिनेमा देशको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा बुधबार दिउँसोसम्म कूल ३८ शोज पाएको छ ।

त्यसैगरी, सिनेमाले दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआईमा ९ शोज, वान् सिनेमाज् नयाँ बानेश्वर, एफक्युब, बिएसआर मुभिज, बिग मुभिजमा समान ३/३ शोज प्राप्त गरेको छ । अन्य केही हलमा भने बुकिङ खुल्न बाँकी नै छ ।

त्यस्तै, ‘लण्डन टू पेरिस’लाई क्यूएफएक्सको आउटलेटमा कूल २९ शो पाउँदा आईएनआईले ३ शोज, बिग मुभिज, वान् सिनेमाज्, एफएक्युब, बिएसआरले समान २/२ शोज दिएका छन् । केहीमा भने बुकिङ खुलिसकेको छैन ।

समग्रमा यी दुवै सिनेमाले पहिलो दिन शुक्रबार देशभर डेढ सय हाराहारी शोज पाउने देखिन्छ । यसमा अकुपेन्सी र दर्शकको वर्डअफमाउथ राम्रो भएको अवस्थामा सिनेमाले शनिबारबाट शोज बढाउनेछ । अब दर्शकबाट ‘वर्ड अफ माउथ’ कस्तो आउँछ, त्यसले सिनेमाको व्यापारिक भविष्य निर्धारण गर्नेछ ।

नवीन सुब्बाको निर्देशनमा बनेको ‘गाउँ आएको बाटो’ले गाउँको कथा भन्छ । सिनेमामा दयाहाङ राई, पशुपति राई, प्रेम सुब्बा, प्रसान राई, खानुमा राई, केशव राई, प्रमिशा राईको मुख्य भूमिका छ । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मसको संयुक्त ब्यानरमा बनाइएको सिनेमाका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् । सिनेमाको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् ।

घनश्याम लामिछानेको निर्देशनमा तयार भएको ‘लण्डन टू पेरिस’ भने ‘ट्राभल लभस्टोरी’ हो । सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कबीर खड्का र गरिमा शर्मा मुख्य भूमिकामा छन् । सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह–निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।