प्रिमियर शोमा नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ उत्कृष्ट प्रतिक्रिया, कस्ले के भने ?

प्रिमियर शोमा नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ उत्कृष्ट प्रतिक्रिया, कस्ले के भने ?

द सिनेमा टाइम्स
1.5k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – जेठ २५ अर्थात् शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘गाउँ आएको बाटो’ बुधबार कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा सिनेमा हेर्न नेता, साहित्यकारदेखि सिनेमाकर्मी तथा पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।

सिनेमा हेरेपछि अधिकांशले नवीन सुब्बा निर्देशित सिनेमा ‘गाउँ आएको बाटोले गाउँ’ले जीवन र बाल्यकालमा फर्काएको प्रतिक्रिया दिए । गाउँमा विकाससँगै के-कस्ता परिवर्तन आउँछ । अनि त्यसको प्रभाव र असर कस्तो पर्छ भन्ने कुरा सुक्ष्म तरिकाले देखाइएको उपस्थित पाहुनाहरुले बताएका छन् ।

एमाले सांसद रघुजी पन्तले सिनेमा निकै राम्रो बनेको र यस्ता सिनेमाले विकाससँगै गाउँमा परेको प्रभाव र त्यहाँको संस्कृतिमाथी परेको असरलाई सुन्दर ढंगबाट देखाइएको बताए । पूर्व पर्यटन तथा संस्कृति मन्त्री सुदन किँरातीले आफु यही समुदायमा जन्मे हुर्केकाले पनि सिनेमाले छोएको बताए । नेपालमा यस्ता सिनेमा बन्न जरुरी भएको र विशेषगरी नवीन सुब्बा जस्ता निर्देशकले त आगामी दिनमा यस्ता विषयमा अझै धेरै सिनेमा निर्माण गर्न जरुरी रहेको बताए ।

निर्देशक निश्चल बस्नेतले नवीन सुब्बा जस्ता निर्देशकको सिनेमा हेर्न पाउनुका साथै निकै इन्जोय गरेको बताए । अभिनेत्री केकी अधिकारीले ‘गाउँ आएको बाटो’ दयाहाङ दाईको करियरकै उत्कृष्ट सिनेमा भएको बताइन् । यता दयाहाङसँग ‘डिग्री माइला’मा काम गरेकी अभिनेत्री आँचल शर्माले दया दाई ‘डिग्री माइला’को भन्दा फरक माइला पाउनुका साथै निकै फरक र क्यारेक्टरमा सुहाउँदो पाएको बताइन् ।

पूर्वमिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बाले सिनेमाले देखाएको बाबु र छोराको सम्बन्धको कथा निकै मन परेको बताइन् । यस्तै अर्की अभिनेत्री दीया मास्केले सिनेमा हेरेर निस्कँदा पनि गुजबम्ब आएको र बोल्नै नसक्ने अवस्थामा रहेको बताइन् । सिनेमाको कथावस्तु र कलाकारकारको कामले आफुलाई निकै छोएको उनको भनाई थियो ।

अभिनेता नाजिर हुसेनले ‘गाउँ आएको बाटो’मा दया दाईले जब बाँसको चोयालाई सक्लो बनाएर चित्रा बनाउनु हुन्छ नि त्यो चित्रा बनाउने एकदमै पाको बाँस भएको बताए । अभिनेत्री मिरुना मगरले बाबुआमामा सन्तानको माया कति हुन्छ भन्ने नजिकबाट महसुुस गर्न पाएको बताइन् । अर्की अभिनेत्री सृष्टि श्रेष्ठले पनि आफु गाउँमा नबसेको भएपनि अहिलेसम्म आइपुग्दा कामको माध्यमबाट विभिन्न ठाउँमा पुग्दाको अवस्थालाई सिनेमा हेरेर महसुस गरेको बताइन् ।

अभिनेत्री स्वस्तिमा खड्काले सिनेमा हेर्दा निकै मज्जा आएको बताइन् । एउटा गाउँमा विकाससँगै भित्रिने विभिन्न समस्या र त्यसले पार्ने प्रभावले भावुक बनाएको बताइन् । सिनेमाकी मुख्य अभिनेत्री पशुपति राईले पनि म आफ्नो सिनेमा हेरेर आफै रोएको बताइन् । सिनेमालाई नेपाली दर्शलले पनि निकै राम्रो प्रतिक्रिया दिएकाले शुक्रबारबाट नेपालबाट रिलिज हुँदा दर्शकलाई पनि मन पर्ने विश्वास व्यक्त गरिन् ।

अभिनेता दयाहाङ राई सिनेमालाई प्रिमियरमा साँच्चिकै गजबको प्रतिक्रिया पाइरहेका छौं । शुक्रबारबाट विशेषगरी दर्शकमाझ जाने भएकाले पनि नेपाली सिनेमाका सच्चा दर्शकबाट कस्तो प्रतिक्रिया मिल्ला भन्ने प्रतिक्षा रहेको सुनाए । विदेशी दर्शकले रुचाएकाले पनि सिनेमाले नेपाली दर्शकले पनि रुचाउने विश्वास उनलाई उत्तिकै रहेको छ ।

नवीन सुब्बाको निर्देशनमा बनेको ‘गाउँ आएको बाटो’ले गाउँको कथा भन्छ । सिनेमामा दयाहाङ राई, पशुपति राई, प्रेम सुब्बा, प्रसान राई, खानुमा राई, केशव राई, प्रमिशा राईको मुख्य भूमिका छ । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मसको संयुक्त ब्यानरमा बनाइएको सिनेमाका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् । सिनेमाको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् ।

तस्वीर : बद्री थापा