अनमोल र आनाको ‘जेरी अन टप’मा आँचलको प्रवेश

अनमोल र आनाको ‘जेरी अन टप’मा आँचलको प्रवेश

द सिनेमा टाइम्स
616
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनमोल केसी सिनेमा ‘जेरी अन टप’को तयारीमा जुटिसकेका छन् । असार पहिलो साताबाट छायांकन गर्न लागिएको सिनेमामा उनको जोडी अभिनेत्री आना शर्मासँग बाँधिने निश्चित भइसकेको छ । यसैबीच, सिनेमामा अर्की अभिनेत्री आँचल शर्माको पनि प्रवेश भएको छ ।

बिहीबार साँझ सिनेमाका निर्माता सरोज न्यौपानेले फेसबुकमा स्टाटस लेख्दै ‘थ्री ए’ निश्चित भएको जनाएका थिए । तर, उनले दोस्रो अभिनेत्रीको नाम भने सार्वजनिक गरेका थिएनन् । यद्यपि, दोस्रो ‘ए’ आँचल हुनसक्ने आँकलन धेरैको थियो । अन्ततः निर्माण टिमले शुक्रबार बिहान एक तस्वीर सेयर गर्दै सिनेमामा आँचल शर्मा अनुबन्धित भएको जानकारी दिएको हो ।

आँचलले सुरुमा ‘जेरी अन टप’मा काम गर्ने जानकारी दिइएको । यसपछि भदौबाट ‘पिताम्बर’को छायांकनमा जोडिने छिन् । यसमा भने उनको जोडी अभिनेता प्रदीप खड्कासँग बाँधिनेछ । यसैगरी, ‘दुःखी आत्मा’मा अभिनेता दयाहाङ राईको जोडीको रुपमा प्रस्तुत हुने तयारीमा उनी छिन् । आँचलको ‘लाइनअप’मा अहिले ‘पिताम्बर’, ‘राजमहल’, ‘दुःखी आत्मा’ जस्ता सिनेमा छन् ।

‘फर्की फर्की’का सुयोग गुरुङको निर्देशनमा निर्माण हुने ‘जेरी अन टप’लाई पहिला हेमराज विसीले निर्देशन गर्ने फाइनल थियो । तर, उनी अमेरिका गएपछि सिनेमामा सुयोग भित्रिएका हुन् । सन् २०१४ मा प्रदर्शनमा आएको सफल सिनेमा ‘जेरी’को दोस्रो श्रृंखलाको रुपमा निर्माण हुन लागेको सिनेमालाई नेपाल र अष्ट्रेलियामा खिचिने छ ।