चलचित्र सभाले के गर्यो निर्णय ?

चलचित्र सभाले के गर्यो निर्णय ?

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमाकर्मीहरूले सिनेमा क्षेत्रको विकास र विस्तारका लागि सिनेमा आयोग गठन गर्न माग गरेका छन् । काठमाडौंमा शनिबार केही सिनेमाकर्मीहरूले सिनेमा सभाको आयोजना गर्दै सिनेमा आयोग गठन गर्न सरकारसँग माग गरेका हुन् ।

आयोग गठनका लागि सरकारका सबै निकायलाई दबाब दिने सभाले निर्णय गरेको छ । निर्देशक दीपेन्द्र गौचनको सयोजकत्वमा कार्यदल गठन गरेर दबाब प्रक्रिया अगाडि बढाउने सभाले जारी गरेको घोषणा पत्रमा उल्लेख छ ।

सभाबाट सिनेमा क्षेत्रको समस्या र समाधानसहित आएको निष्कर्षलाई प्रधानमन्त्री कार्यालय, सञ्चार मन्त्रालय, चलचित्र विकास बोर्डलगायत सिनेमासम्बन्धि संघ संस्थामा बुझाउने घोषणा पत्रमा उल्लेख छ ।

‘प्राविधिक सम्बन्धित निश्चित मापदण्ड नहुँदा सिनेमा गुणस्तर बढ्न सकेको छैन । नेपाल बहुजातीय र बहुभाषिक देश भएपनि सिनेमा बनाउँदा बोर्डमा नेपाली भाषालाई मात्रै प्राथमिकता दिँदा निर्माणदेखि प्रदर्शनसम्म ठूलो चुनौती छ,’ घोषणा पत्रमा उल्लेख छ, ‘सिनेमा बनाउँदा बैंकबाट लोन लिने व्यवस्था नहुँदा निर्माताहरूलाई लगानी गर्न कठिन छ । विश्वले सिनेमासम्बन्धि प्राविधिक पाटोमा फड्को मारे पनि नेपालमा त्यसलाई स्वीकार गरेर अगाडि बढ्न नसकेको अवस्था छ ।’

सभाले नेपाल सरकारले सिनेमा क्षेत्रमा अन्य देशसँग सह-निर्माण सम्झौता लागु गर्न नसकेको भन्दै सिनेमामा वैदेशिक लगानी गर्ने प्रावधान नहुँदा पनि अवसरहरुको अभाव रहेको जनाएको छ । सिनेमाको स्रोतसाधन र कलाकाहरूको लागि बीमाको नीति आवशयक रहेको सभाको निष्कर्ष छ ।

सिनेमा हलहरु सहर केन्द्रीत हुँदा गाउँका दर्शकहरुमा सिनेमा हेर्ने कल्चरको विकास हुन नसकेको भन्दै सभाले स्थानीय सरकारसँगको सहकार्यमा मिनि हल बनाएर सिनेमा हेर्ने कल्चर विकास गर्नुपर्नेमा जोड दिएको छ ।

सिनेमामा लाग्ने कर छुट गर्नुपर्ने, सिंगल थिएटरलाई अनुदान दिनुपर्ने, विद्यालयदेखि नै पाठ्यक्रममा सिनेमा सम्बन्धी विषयवस्तु समावेश गर्न सभाले माग गरेको छ ।