द सिनेमा टाइम्स,काठमाडौं ।नेपाली सिनेमा वितरण गर्दै आएको आरआर फिल्मस्ले प्यान इण्डिया स्टार प्रभास स्टारर ‘कल्की’बाट विदेशी सिनेमा वितरणमा प्रवेश गरेको छ।
यो सिनेमाका लागि अन्य नेपाली कम्पनीहरुबिच तीब्र प्रतिष्पर्धा चलिरहेको थियो।
तीब्र प्रतिष्पर्धाकाबीच कम्पनीले सिनेमाका लागि करिब २ करोड भारतीय रुपैयाँमा नेपाल वितरण अधिकार किनेको बताइन्छ।
यसअघि बलिउड र हलिउडका ठूला सिनेमामा नेपालका पुराना वितरकहरुबीच हानथाइ हुने गरेको छ। यस्तोमा आरआर फिल्मस् यस पटक बाजी मार्न सफल भएको छ। लगानी उठाउन यो सिनेमाले करिब ७ करोडको व्यापार गर्नुपर्नेछ।
कम्पनीले अब नेपालीसँगै भारतीय सिनेमाको वितरण नियमित गर्ने जानकारी रोहित कट्टेलले दिएका छन्।
यो कम्पनीले वितरण गरेको पछिल्लो रिलिज ‘पुजार सार्की’ आफ्नो प्रदर्शनको पाँचौ हप्तामा छ भने असार २८ गते दयाहाङ राई तथा मिरुना मगर स्टारर ‘घरज्वाइँ’ रिलिज हुँदैछ।
‘कल्की’ असार १३ गते रिलिज हुँदैछ। बिग बजेट सिनेमा भएका कारण सिनेमालाई लिएर ठूलै उत्सुक्ता रहेको छ। सिनेमामा प्रभासका अलावा अमिताभ बच्चन, कमल हसन तथा दीपिका पादुकोणको प्रमुख भूमिका रहेको छ।
हिन्दीसहित ६ भाषामा रिलिज हुने ‘कल्की’को बजेट ६ सय करोड भारु भएको बताइन्छ।


प्रतिक्रिया