‘यति इन्टरनेशनल नेपाली सिनेमा अवार्ड’ आयोजना लण्डनमा हुने

‘यति इन्टरनेशनल नेपाली सिनेमा अवार्ड’ आयोजना लण्डनमा हुने

द सिनेमा टाइम्स
140
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बेलायतको राजधानी लण्डनमा ‘यति इन्टरनेशनल नेपाली सिनेमा अवार्ड’ आयोजना हुने भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच आगामी भदौ १५ गते अर्थात् अगष्ट ३१ मा अवार्ड आयोजना हुन लागेको जानकारी गराइयो ।

यति नेपाली एसोसिएसन, यूकेको आयोजना तथा संगिक्षा फिल्मस् इन्टरटेन्मेन्टको व्यवस्थापनमा अवार्ड हुन लागेको हो । सन् २०२३, अप्रिल १४ देखि २०२४ को जुन २१ सम्म प्रदर्शनमा आएका सिनेमाहरुमध्ये उत्कृष्ट तीन छनोट गरिने आयोजक संस्थाले जनाएको छ । अवार्डको जुरी संयोजकमा अभिनेता सुनिल थापा तथा सदस्यहरुमा अभिनेत्री गौरी मल्ल तथा निर्देशक उज्ज्वल घिमिरे छन् ।

नेपाली सिनेमाको श्रीवृद्धि तथा अन्तर्राष्ट्रिय बजार विस्तारको उद्देश्यले लण्डनमा अवार्ड गर्न लागिएको जनाइएको छ । अवार्डका लागि बेलायत कमिटी अध्यक्षमा पिप्ला देवन थापा, उमेश मोक्तान (पूर्वअध्यक्ष), टंक भट्टराई (महासचिव), आशिष राज पन्त (सचिव) र पाल्देन लामा छन् ।

नेपाल कमिटीमा भने संगिक्षा फिल्मस्बाट अध्यक्ष सुनिल श्रेष्ठ, महासचिव मनोज केसी, सचिव मोहन श्रेष्ठ, कोषाध्यक्ष प्रकाश कुँवर र मनिष कार्की संयोजकमा छन् । १६ विद्यामा वितरण गरिने अवार्ड समारोहलाई पूर्वमिस नेपाल तथा अभिनेत्री मलिना जोशीले सञ्चालन गर्नेछिन् । नेपालबाट नाम चलेका सिनेमाकर्मीहरु सहभागी रहने आयोजक संस्थाले जनाएको छ ।