द सिनेमा टाइम्स, काठमाडौं । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको सिनेमा ‘घरज्वाइँ’को गीत ‘यानिमाया’ले उत्कृष्ट प्रतिकृया पाइरहेको छ । रिलिज हुनबित्तिकैदेखि गीतले उत्कृष्ट प्रतिकृया पाइरहेको हो ।
युट्युबमा रिलिज भएको गीतको दर्शकले तारिफ गरिरहेका छन् । हृदय छुने गीत भन्दै दर्शकले तारिफ गरिरहेका छन् । सिनेमा प्रतिक्षित रहेको र गीत पनि राम्रो रहेको दर्शकबाट प्रतिकृया आइरहेको छ ।
कमल बुढाथोकीले सामाजिक सञ्जाल फेसबुकमा ‘घरज्वाइँ’ स्थानीय कला र संस्कृति समेटेर बनेको मौलिक सिनेमा भएको बताएका छन् । ‘घरज्वाइँ सिनेमाले कुनै एउटा गाउँ ठाउँमा भइरहेको तथा घटिरहेको चलन चल्तिलाइ समेटेर बनेको छ जस्तो लाग्छ,’ कमल लेख्छन्, ‘खासगरी यो खालको चलन मुख्य त रोल्पा रुकुम लगायत धेरै ठाउँमा चलिरहेको छ । आसा गरौँ सिनेमा चलोस म लगायत अरु दर्शकले सिनेमा हेरिदिनुहुन्छ भन्ने आसा छ । सम्पूर्ण सिनेमा ‘घरज्वाइँ’ टिमलाई अग्रिम सुभकामना ।’
‘घरज्वाइँ’ निर्माणपक्षले शनिबार ‘यानीमाया’ बोलको गीत सार्वजनिक गरेको थियो । हर्क साउदको शब्द रचना तथा मनोज थापा मगरको संगीत तथा स्वर रहेको छ । गीतले प्रेमप्रतिको समर्पण र सम्बन्धप्रतिको लगावलाई प्रष्ट्याउने प्रयास गरेको छ । जस्तो सुकै दुःख र कष्ट सहेर प्रेम पाउन गरेको संघर्षलाई गीतले देखाउन खोजेको छ । जहाँ दयाहाङ आफूले गरेको प्रेम प्राप्तिका लागि जस्तोसुकै दुःख सहेर ‘घरज्वाइँ’ बसिरहेका छन् भने मिरुना बाबुले गास्न नचाहेको सम्बन्धलाई जसरी पनि गासेर छाड्ने प्रतिज्ञामा छिन् ।
गीतको यो कथा र भिडियोलाई दर्शकले मन पराएका छन् । र मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । अरुण पुन मगर नाम गरेका फेसबुक प्रयोगकर्ता लेख्छन्, ‘बहुप्रतिक्षित नेपाली सिनेमा घरज्वाइँको अर्को हृदय छुने गीत ।’
गीतले घट्टले मकै पिसेर धुलो बनाएजस्तै मान्छेको दुःख केले पिस्छ होला भनेर मान्छेले भोग्ने दुःखको कुरा गरेको छ । यसले दर्शक मन जितेको छ । नेपाली समाजको यथार्थ भन्दै दर्शकले तारिफमा शब्द खर्चिरहेका छन् ।
संयोग नेम्वाङ नामक फेसबुक प्रयोगकर्ता लेख्छन्, ‘नेपाली समाजमा भए जगरेका यथार्थ कुरालाई चरित्र चित्रण गरिएको रहेछ, राम्रो लाग्यो ।
अर्का फेसबुक प्रयोगकर्ता रत्न लेख्छन्, ‘हेर्दा हेर्दै आँखाबाट आँसु झरेछ, शुभकामना फिल्म सफल बनोस् ।’
२४ घण्टामा डेढ लाखले गीत हेरेका छन् । साढे ५ सय कमेन्ट आएका छन् । करिब सतप्रतिशत गीत मन पर्यो भन्नेछ भने सिनेमाको प्रतीक्षा रहेको भन्नेछ ।
गीतले पश्चिम नेपालको मगर समुदायको संस्कृतिको कथा भन्छ । मगर समुदायमा रहेको घरज्वाइँ संस्कृतिको कथा पेस गर्छ । मगर समुदायमा छोरीका लागि ज्वाई योग्य छ कि छैन भनेर ससुरालीमा राखेर उसको काम र सीप हेर्ने चलन छ । यही यो सिनेमाले देखाउनेछ ।
पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।
जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् ।
सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।
सिनेमा ‘घरज्वाइँ’ असार २८ गतेबाट नेपाल र विदेशमा एकसाथ रिलिज हुनेछ । सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गर्दैछ ।


प्रतिक्रिया