‘मोदीबेनी’को गीत ‘मन्जुरी’मा रिल बनाएर जित्नुहोस् पुरस्कार

‘मोदीबेनी’को गीत ‘मन्जुरी’मा रिल बनाएर जित्नुहोस् पुरस्कार

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत सोमबार आगामी साउन १८ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘मोदीबेनी’को पहिलो रोमान्टिक गीत ‘मन्जुरी’ सार्वजनिक गरिएको थियो । युट्युबमा गीतलाई राम्रो प्रतिक्रिया मिलेको छ । विशेषगरी गीतको अडियो पक्षको प्रशंसा भैरहेको छ ।

सार्वजनिक गीतमा फिचर्ड अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु-अभिनेता अमर प्रताप श्रेष्ठको केमेस्ट्रीलाई रुचाइएको छ । यसैबीच, सिनेमाको टिमले ‘मन्जुरी’ गीतमा रिल प्रतियोगिताको घोषणा गरेको छ । यो प्रतियोगिताको समयसीमा साउन १५ गतेसम्म रहने निर्माता तथा कलाकार दीलिप केसीले जनाए ।

यो प्रतियोगितामा भाग लिन इच्छुकले गीतमा रिल भिडियो बनाएर आफ्नो फेसबुक, इन्स्टाग्रामको रिल र युट्युब शट्र्समा अपलोड गरी प्रदर्शन मितिसहित सिनेमाको फेसबुक पेजमा मेन्सन गर्नुपर्ने छ । सर्त पालना गरेर बनाइएको रिलहरुमध्ये गोलाप्रथाबाट ३ जनालाई विजेता घोषणा गरिनेछ ।

विजेतालाई विभिन्न पुरस्कार तथा विशेष छुट सौजन्य लोकल फार्म, घराना लाउन्ज, सिडिसी सिनेमा र केटिएम फिटनेसले गर्नेछन् । गीतमा रिल बनाउँदा सिनेमाको पेजमा अपलोड भएका रिलहरुबाट गीतको अडियो प्रयोग गर्न सकिनेछ भने कोरियोग्राफीको स्टेप अनुसार पनि रिल बनाउन सकिनेछ ।

शंकर कोइरालाको डेब्यु निर्देशनमा निर्माण भएको सिनेमामा वर्षा र अमरका अलवा सरोज खनाल, रेजिना उप्रेती, प्रवीण खतिवडा, दीलिप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको पनि अभिनय छ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमाको कथा आनन्द विक्रम क्षेत्रीले लेखेका हुन् । दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेको सिनेमामा उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ ।